१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

दाङमा ३५ प्रतिशत मात्र रोपाइँ



तुलसीपुर (दाङ), १७ साउन ।
समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार देउखुरी क्षेत्रमा सिाचाइँ सुविधा भएका कारण त्यस क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाको सिँचाइ सुविधा पुगेका केही वडामा मात्र धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा खेत बाँझै छन् ।
किसान धान रोपाइँ गर्नका लागि ब्याड राखेर तयारी अवस्थामा बसेका छन् । तर पर्याप्त मात्रामा वर्षा हुनसकेको छैन् ।

जिल्लामा ३६ हजार हेक्टर जग्गामा धानखेती हँुदै आएको बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताउनुभयो ।

चालीस प्रतिशत खेती आकाशे पानीको भरमा हुने गर्दछ । यस वर्ष जिल्लाका धेरै किसानले हाईब्रिड जातका धान युएस ३१२, युएस ३१६, चाँदनी, तारा लगायत लगाएका छन् ।

केही स्थानमा विन्देश्वरी, राधा १७ हर्दिनाथ लगायतका जातका धानखेती गरिएको छ । वर्षा नहुदाँ यस वर्ष उत्पानदमा गिरावट आउने अनुमान गरिएको छ । जिल्लामा मलको कुनै अभाव नभएको कृषि सामग्री संस्थानले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : ११ बजे