२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

पर्यावरण जोगाउन विरुवा संरक्षण आवश्यक – नगर प्रमुख अधिकारी



सीताराम चौधरी, कपिलवस्तु, २२ साउन ।
पर्यावरण जोगाउन बोटविरुवा संरक्षण गर्नुपर्ने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले जोड दिनुभएको छ ।
मनकामना सामुदायिक वन उपभोक्ता समूह करहिया कपिलवस्तुद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा बिरुवा रोपेर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । मानव र विरुवा एक अर्काका परिपूरक भएको औल्याउँदै नगरप्रमुख अधिकारीले सबै मिली बोटविरुवाको संरक्षणमा जुट्नुपर्ने जिकिर गर्नुभयो । मानव जीवनमा बोटविरुवा अत्यावश्यक रहेको औल्याउँदै उहाँले भन्नुभयो– “बोटबिरुवाका कारण पर्यावरण स्वच्छ छ, हराभरा छ र नै हामी बाँचेका छौं ।”
मनकामना सामुदायिक वनले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर जिसी, नेकपा एमाले शिवराज नगरकमिटी सचिवालय सदस्य अर्जुन के.सी, आवर मदरल्याण्ड एकेडमीका अध्यक्ष शरद अधिकारी लगायतले वृक्षारोपण गर्नुभएको थियो ।
सामुदायिक वनक्षेत्रभित्र खाली रहेको दुई हेक्टर क्षेत्रफलमा ३ हजार विरुवा रोपिएको वन व्यवस्थापन समिति अध्यक्ष रामबहादुर के.सी.ले जानकारी दिनुभयो । पर्यावरण जोगाउन मनकामना सामुदायिक वनले हरेक वर्ष बृक्षारोपण गर्दै आएको छ अध्यक्ष के.सी.ले बताउनुभयो । मनकामना सामुदायिक वनमा एक हजार बढी उपभोक्ताले वनको संरक्षण गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ३ : १७ बजे