१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राज्यसत्ताको दुरुपयोग, निर्वाचनमा गलत नजिर ः एमाले



चितवन, साउन २३ ।
नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरि निर्वाचनमा गलत नजिर बसालिएको बताएको छ ।
एमाले चितवनले सोमबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले भरतपुर १९ को पुनः मतदानमा राज्यसत्ताको चरम दुरुपयोग भएको बताउँदै निर्वाचनमा भावी दिनमा असर प्रभाव पर्नेगरी गलत नजिर बसालिएको बताउनुभयो ।
निर्वाचनमा पराजित हुने निश्चित देखिएपछि मतपत्र च्यात्ने र राज्यसत्ताको दुरुपयोग गरि पुनः मतदान गराउने संस्कारले निर्वाचनमा गलत नजिर बसेको बताउँदै उहाँले भन्नुभयो, ‘भरतपुरमा भएको यो कार्यले लोकतन्त्रको उपहास भएको छ ।’ राज्यसत्ताको नाङ्गो धाँधलीका कारण एमालेका उम्मेदवारले पराजय भोग्नु परेको भन्दै उहाँले भरतपुर १९ को पछिल्लो मतपरिणाम अस्वाभाविक भएको बताउनुभयो ।
भरतपुरमा षड्यन्त्रपूर्ण रुपमा मेयर पदमा हराउने खेल भए पनि भरतपुर महानगरमा पार्टी पहिलो भएको बताउँदै अध्यक्ष पोखरेलले भरतपुर महानगरका १ सय ४७ पद मध्ये ७० पदमा विजयी भई एमाले पहिलो पार्टी भएको बताउनुभयो । एमालेका तर्फवाट विजयी प्रतिनिधीहरुले आइतबार नलिएको सपथ सोमबार छुट्टै लिने बताउँदै उहाँले नेकपा एमाले जनताप्रति प्रतिबद्ध र जिम्मेवार पार्टी भएकाले यसका प्रतिनिधिहरु भरतपुर महानगरको विकासमा सक्रिय भएर लाग्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले सत्ताको आडमा विकासका नाममा करोडौं रुपैयाँ रकमान्तर गरेर झुट्टा विकासे आश्वासन जनतालाई दिएर आफूलाई हराइएको बताउनुभयो । माओवादीले निर्वाचनको अघिल्लो रात करोडौं रुपैयाँ वितरण गरेको दावी गर्दै ज्ञवालीले भन्नुभयो ‘उम्मेदवारकै गाडीमा पैसा लिएर बाडेको जानकारी दिँदा प्रशासनले संरक्षण गर्यो ।’
पहिलो चरणको निर्वाचन वैशाख ३१ गते भएकोमा जेठ १४ गते राती मतगणना हुँदा हुँदै मतपत्र च्यातिएको थियो । त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । २० गते पुनः निर्वाचन भएको थियो । महानगरमा एमालेले १४ वडासहित ७० पद, नेपाली कांग्रेसले उपमेयर र १२ वडासहित ६९ पद र माओवादीले मेयर र ३ वडा सहित ८ पदमा विजयी हासिल गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ६ : ५३ बजे