८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मूल पार्टीमा फर्किँदै मधेसका नेता



काठमाडौं, २६ साउन ।
असोज २ मा हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन् । नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरिसकेका छन् ।
नयाँ शक्ति पार्टीका नेता झाले नयाँ शक्ति छाडिसकेका छन् । औपचारिक घोषणा नगरे पनि ‘पार्टी छाडेको जस्तो स्थिति रहेको’ उनले बताए । ‘पार्टी छाडेको जस्तो भयो। मैले पार्टीका संयोजक बाबुराम भट्टराईलाई टेलिफोन गरी तपाईँले जसरी पार्टी चलाउनु भएको छ, त्यसमा म जिम्मेवार छैन भनिसकेको छु,’ उनले भने ।
एमालेको दोस्रो तहका केही नेतासँग अनौपचारिक कुराकानी भइरहेको पनि उनले बताए । ‘यही साउन मसान्तभित्रै कुनै राजनीतिक निर्णय लिन्छु,’ झाले भने । धनुषाका झा एमालेबाट माओवादी र त्यसबाट नयाँ शक्तिमा प्रवेश गरेका थिए ।
फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । ‘अब केही दिनभित्रै एउटा निर्णय गर्छु,’ यादवले भने, ‘जतिसक्दो चाँडो निर्णय गर्ने प्रयास हुन्छ।’ यादव निकट स्रोतका अनुसार यादवलाई आफ्नो पार्टीमा आउन केही ठूला पार्टीका दोस्रो तहका नेताहरुले प्रस्ताव गरेका छन् ।
राजपाका दोस्रो तहका नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, सांसद कमलेश्वर पुरी गोश्वामी, वृजेशकुमार गुप्तालगायत राजपा अध्यक्ष मण्डलसँग असन्तुष्ट छन् । यीमध्ये गोश्वामी सांसद रहेकाले तत्काल पार्टी छाडेर अन्यत्र जानसक्ने अवस्था छैन, अन्य नेताहरुले भने राजपाको नयाँ पार्टी कार्यालय अहिलेसम्म टेकेका छैनन् ।
यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  २ : ५६ बजे