१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चन्द्रौटा क्षेत्रका नागरिकले घुम्ती शिविरबाट नागरिकता बनाए



सीताराम चौधरी, चन्द्रौटा, २७ साउन ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाले संचालन गरेको घुम्ती नागरिकता शिविरमा झण्डै ४ सय जनाले नागरिकता बनाएका छन् । जिल्लाको कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा संचालन गरिएको घुम्ती शिविरमा पुगी सर्वसाधारणले नागरिकता बनाएका हुन् ।

साउन २४ र २५ गते कृष्णनगरमा संचालन गरिएको दुई दिने शिविरमा १६४ जनालाई नागरिकता वितरण गरिएको शाखा अधिकृत जगदीश अर्यालले जानकारी दिनुभयो । यसैगरी विजयनगर गाउँपालिकामा संचालन गरिएको दुई दिने शिविरको पहिलो दिन ७६ जनाले नागरिकताले नागरिकता पाए, शाखाअधिकृत अर्यालले भन्नुभयो ।

विजयनगरमा साउन २२ र २३ गते मिति तोकिएपनि पूर्णिमाको विदा परेकाले २३ गतेको शिविर २६ गते सारिएको उहाँले बताउनुभयो । शिविरमा नागरिकता बनाउनेको उल्लासपूर्ण सहभागिता रहेको अर्यालले बताउनुभयो । विजयनगरमा विहीबार सम्पन्न घुम्ती शिविरमा झण्डै डेढ सयले नागरिकता बनाएको उहाँले जनाउनुभयो । शिविरमा बंशज र बैवाहिक अंगीकृत नागरिकता मात्र वितरण गरिएको उहाँले भन्नुभयो । नागरिकता लिएकामध्ये ६० प्रतिशत महिला रहेको उहाँको भनाई छ । जसमध्ये २० बढीले बैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको शिविर टोली प्रमुख अर्यालले जानकारी दिनुभयो ।

फोटोसहितको मतदाता नामावलीका लागि नागरिकता अनिवार्य गरिएकाले वृद्धवृद्धा, महिला र अशक्तलाई लक्षित गरी घुम्ती नागरिकता शिविर संचालन गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव मेघनाथ पाध्याले बताउनुभयो । मतदाता नामावली संकलनसँगै संचालन गरिएको घुम्ती शिविरका साथै इलाका प्रशासन कार्यालयमा पनि नागरिकता बनाउनेको निकै घुइँचो छ, पाध्याले भन्नुभयो ।

यता कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले नागरिकता टोलीलाई धन्यबाद दिंदै सर्वसाधारणका लागि घुम्ती शिविर निकै प्रभावकारी रहेको बताउनुभयो । यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष सर्वसाधारणका लागि शिविर निकै फलदायी भएको बताउँदै शिविरको अवधि छोटो भएकाले अधिकांश सर्वसाधारण अझै पनि नागरिकताबाट बन्चित रहेको औल्याउनुभयो । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वको टोली घुम्ती शिविरमा खटिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १० : १३ बजे