१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमालेद्धारा बाढी प्रभावित क्षेत्रमा जनवर्गीय संगठन परिचालन



काठमाडौं, २९ साउन ।
नेकपा एमालेले तराई मधेसका बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गीय संगठनहरुलाई खटाएको छ ।
एमाले मोर्चा संगठनको आइतबार बसेको बैठकले पीडितहरुको उद्दार, राहत र पुनस्र्थापनामा राज्यको सम्पूर्ण शक्ति लगाउन सरकारसँग माग गरेको छ । साथै बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गीय संगठनहरुलाई खटाएको छ ।
जस अनुसार सप्तरीमा युवा संघ र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र आदिवासी महासंघ, सर्लाहीमा अखिल नेपाल किसान संघ, रौतहटमा बुद्धिजिवी परिषद् र मानवअधिकार एलाइन्स र बारामा खेलकुद महासंघलाई खटाइएको एमालेले जनाएको छ ।
यस्तै पर्सामा जिफन्ट, झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग वाणिज्य र कानुन व्यवसायी, बर्दियामा भूपू सैनिक संघ, बाँकेमा मानवअधिकार एलाइन्स र कपिलबस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई खटाएको छ ।
एमाले बैठकले स्थानीय कमिटी र जनवर्गीय सगठनहरुलाई सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर राहतमा जुट्न भनेको छ ।
साथै प्रदेश नम्बर २ को चुनावको तयारीका लागि भदौ १० मा उपत्यकामा र १३ गते जनकपुरमा मोर्चा संगठनको भेला गर्ने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ५६ बजे