७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टेष्ट क्रिकेट शृंखलामा भारतले श्रीलङ्कालाई हरायो



काठमाडौं, २९ साउन ।
घरेलु टोली श्रीलंकासँगको ३ खेलको टेष्ट क्रिकेट शृंखलाको सिरिज भारतले ३–० ले आफ्नो पक्षमा पारेको छ । सोमबार सम्पन्न अन्तिम टेष्ट क्रिकेटमा भारतले एकै इनिङ्समा श्रीलंकालाई १७१ रनले पराजित गर्दै सिरिज जितेको हो ।
पहिलो इनिङ्समा खराब प्रदर्शन गर्दै १३५ रनमा अलआउट भएको श्रीलंकाले दोस्रो इनिङ्समा पनि राम्रो प्रदर्शन गर्न नसक्दा पाहुना टोलीलाई नतिजा सुम्पेको हो । दोस्रो इनिङ्समा श्रीलंकाले सबै विकेटको क्षतिमा १८१ रनमात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि निरोशान डिक्वेल्लाले ४१, कप्तान दिनेश चन्दिमालले ३६ र एन्जेलो मेथेवसले ३५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । एकपछि अर्को विकेट पतन भएको श्रीलंकाका ब्याट्सम्यान भारतीय बलरसामु खुलेर खेल्न सकेनन् । भारतका लागि रभिचन्द्रन अश्विनले ४ र मोहम्मद शामीले ३ विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा श्रीलंकाका कप्तान दिनेश चन्द्रिमालले ४८ र निरोशान डिक्वेल्लाले २९ रन बनाउका थिए । यसअघि पल्लेकेले अन्तर्रा्ष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै १० विकेटको क्षतिमा ४८७ रन बनाएको थियो ।
भारतका लागि ओपनिङमा आएका शिखर धवन र लोकेश राहुलले राम्रो खेलेका थिए । शिखर धवनले ११९ रन बनाए । त्यस्तै, अर्का ओपनर राहुलले ८५ रन बनाए । त्यस्तै, भारतका लागि हार्दिक पाण्ड्यले उत्कृष्ट प्रदर्शन गर्दै १०८ रनको योगदान दिएका थिए । कप्तान विराट कोहलीले ४२ र रभिचन्द्रन अश्विनले ३१ रन बनाएका थिए । श्रीलंका भ्रमणमा रहेको भारतले अब ५ एक दिवसीय क्रिकेट शृंखला र एक मात्र टि–ट्वान्टी क्रिकेट खेल्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ११ : ३३ बजे