१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

तम्घास र सन्धिखर्कमा रोपाइँ जात्रा यसरी मनाइयो



सन्धिखर्क, ३१ साउन ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्क र गुल्मी सदरमुकाम तम्घासमा रोपाइँ जात्रा मनाइएको छ । १०८ पञ्चायन मन्दिर शान्ती बगैँचा र अर्घाखाँची युवा परिषदको आयोजनामा रथयात्रा तथा रोपाइँजात्रा मङ्गलबार सदरमुकाम सन्धिखर्कमा असारे रोपाइँको झल्को दिने गरीसम्पन्न गरेका छन् ।
युवा परिषदले भक्ति टोलको शिद्धेश्वर मन्दिरबाट रथयात्रा, बाजागाजा सहित निकालिएको रोपाइँ जात्राले चुत्रावेसी र सन्धीखर्क बजारको परिक्रमा गरेको थियो । त्यस्तै १०८ पञ्चायन मन्दिरले शान्ती वगैँचावाट बाजागाजा सहित निकालिएको रथयात्रा तथा रोपाई जात्राले पनी सन्धीखर्क बजार परिक्रमा गरेको थियो ।
सयौंको सहभागिता रहेको उक्त रोपाइँ जात्रामा पञ्चे बाजाको तालमा गोरु जोत्ने, खोक लगाउने, धान रोप्ने गर्नुका साथै रोपाइँमा गाइने वालीगीत गाएर महिला तथा पुरुषहरु छमछमी नाचेको दृश्य साँच्चै हेर्न लायक थियो ।
रोपाइँ जात्रामा पञ्चायत कालका साहू महाजनको झल्को मेटाउने गरी छाता ओडेर अगि पछि सहयोगी राखेर रोपाइँ हेर्ने साहु, पुलिस, नोकर चाकर, जोगी, बाउँसे बन्नुका साथै स्थानीय युवायुवतीहरुले भजन किर्तन समेत गरी दर्शकलाई भरपुर मनोरञ्जन दिलाउनुका साथै छमछमी नचाएका थिए ।
मङ्गलबार नै सन्धीखर्क १२ डिभर्नामा रहेको श्री राधा कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा रथ यात्रा तथा रोपाइँ जात्रा निकालिएको छ । विगत जस्तै यस वर्ष पनि रोपाइँ जात्रा तथा रथ यात्रा निकालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो । रथ यात्रा झेडी, सल्लिकोट, ठुटीपिपल, लहरेवाद र डिभर्नामा रहेको सिद्धेश्वर गुफा सम्म र्पुयाइएको थियो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार जिल्लाको धार्मिक स्थल अर्घामा परम्परागत लाखे नाच निकालिएको थियो । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्मा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।
यसैबीच गुल्मी सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाइँ जात्रा सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा रहेका क्लव र मन्दीर व्यावस्थापन समितीले मङ्गलबार विविध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाएका हुन् ।
तम्घासमा रहेको गुल्मी युनाईटेड क्लवले उदिनढुङ्गाबाट श्रीकृष्णको रथ यात्रा, रोपाइँ जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेका थिए । क्लव र मन्दिरले तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा आई बिबिध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
स्रोत अनलाइन खबर

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : १८ बजे