८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भैरहवा भन्सारका कर्मचारी विभागमा तानिए



भैरहवा, ३२ साउन ।
भैरहवा भन्सार कार्यालयका अधिकृत सहित चार कर्मचारी भन्सार विभागमा तानिएका छन् । एउटै प्रज्ञापन पत्रबाट दुई वटा गाडी बाहिरिएको भेटिएपछि विभागले ४ कर्मचारीलाई विभागमा तानेको हो ।
भन्सार अधिकृत मान बहादुर विश्वकर्मा सहित नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीसँग विभागले स्पष्टीकरण पनि सोधेको स्रोतले बताएको छ ।
कर्मचारीकै मिलोमतोमा अनियमिता भएको घटना सार्वजनिक भएपछि भन्सार विभागले निर्देशक दिव्या पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पोखरेल नेतृत्वको छानबिन टोली भैरहवा पुगेर आफ्नो आफ्नो काम थालेको छ । छानविन टोलीलाई एक हप्ताभित्र घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
यसैबीच भैरहवा भन्सार कार्यालयले ना ४ ख ४१२६ नम्बरको ट्रकको भन्सार पास गराउने एजेण्ट जगतराज दाहालको लाइसेन्स निलम्बन गरेको छ । दाहालको ४७५ नम्बरको लाइसेन्स ६ महिनाको लागि निलम्बन गरिएको भन्सारका सूचना अधिकृत गोपाल भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १२ : २७ बजे