२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

पाल्पा दूध र मासुमा आत्मनिर्भर



रामपुर (पाल्पा), ४ भदौ ।
पाल्पा दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा दूध, मासु र अण्डाको उत्पादन प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ ।

विगत पाँच वर्षयता दूध र मासुमा आत्मनिर्भर भई बाहिरी जिल्लामा समेत पठाइने गरिएको छ । व्यावसायिक पशुपालन, कुखुरापालन, घाँस उत्पादनमा कृषकले जोड दिन थालेपछि पाल्पा जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्ला पशुसेवा कार्यालयले विशेष गरी पशु आहारा सेवा, पशु प्रजनन सेवा, व्यावसायिक पशुफार्म सुधार, स्थानीय कुखुरा संरक्षण, व्यावसायिक बाख्रा पकेट कार्यक्रम, सहकारी खेती, बंगुर कार्यक्रम, पशु स्वास्थ्य, उन्नत घाँस विकास कार्यक्रम, क्षमता अभिवृद्धि जस्ता कार्यक्रम ल्याएका कारण दूध र मासुको उत्पादन वर्षेनी बढ्दो क्रममा रहेको वरिष्ठ पशु विकास अधिकृत डा प्रदीप शर्माले जानकारी दिनुभयो ।

कृषकले दूध र मासु उत्पादनलाई ध्यान दिई व्यावसायिक पशुपालनलाई जोड दिइरहेका छन् । बजारमा दूध र मासुको उचित मूल्य पाएपछि कृषक व्यवसायप्रति आकर्षित भएका छन् ।

जिल्लामा उत्पादित दूध र मासु अहिले बुटवल, पोखरा, स्याङ्जालगायत विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।

उन्नत जातका गाईपालन, बंगुरपालन, बाख्रापालन, कुखुरापालन व्यवसायबाट आम्दानीको स्रोत बढ्नुका साथै जिल्लालाई दूध र मासुमा आत्मनिर्भर बनाउनुका साथै कृषकले हिजोआज उत्पादन बढाउँदै गएको रामपुरका अगुवा बाख्राफार्म सञ्चालक बलबहादुर राना बताउनुहुन्छ ।

निर्वाहमुखी व्यवसाय गरेका कृषकले पशुपालनलाई व्यवसाय उन्मुख बनाउँदै कृषकले आयस्रोत बढाउन थालेका छन् । रासस

प्रकाशित मिति : ४ भदौ २०७४ आइतबार ००:००  १२ : २१ बजे