१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने विश्वास



धनुषा, ४ भदौ ।
प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मधेश केन्द्रित दलसँग रहेका ६ चुनाव चिन्हमध्ये कुनै एक लिई राजपा २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको हो ।

जनकपुरमा अइतबार जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय चुनावमा राजपा सहभागी हुने जिकिर गर्नुभयो । आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा चुनाव गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो ।

डा यादवले भन्नुभयो, “ निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हुँदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।” रासस

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ११ : २७ बजे