७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा तीजको चहलपहल



सरिता थारु, कपिलवस्तु, ८ भाद्र ।
आज (विहिबार) हरीतालिका तीज । हिन्दुधर्मावलम्बीहरुले यो पर्व मनाउदैछन् । तीजको अघिल्लो दिन छोरी चेली तथा ईष्टमित्रका साथ घरघरमा मिठो परिकार पकाई दर खुवाउने गरिन्छ । यद्यपी शहर बजारमा आजभोली केही साता अघि देखि नै दर खाई रमाइलो गर्न थालिएको छ ।

हरितालिका तिजको दिन महिलाहरु दिनभर निराहार ब्रतबसी पुजाआजा गर्ने भएकाले त्यसको अघिल्लो दिन राति अबेर सम्म मिठो मिठो परिकार खाने प्रचलन छ । विबाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै र अविबाहित महिलाहरुले सुयोग्य बर पाउँ भन्ने कामना गर्दै हरितालिका तिजको दिन पानी पनि नखाई पुजाआजा गर्ने गरिन्छ ।

यस दिन महिलाहरु छरछिमेक, आफन्त र साथीसंगीहरुसंग नाचगान गर्दै दर खाने गर्दछन । तिज पर्वमा महिला मात्र नभई पुरुष पनि व्यस्त देखिन्छन् । आफ्ना श्रीमती, दिदी बहिनी, फुपुहरुलाई रातो बस्त्र, चुरा पोते उपहार दिने परम्परा अनुसार पुरुषहरुलाई पनि तिजको चटारोले छोएको देखिन्छ ।

तीजको दरखाने दिन बुधबार कपिलवस्तुका बजारहरुमा पनि निकै भिडभाड देखिएको थियो । जिल्लाको चारनम्बर, चन्द्रौटा लगायतका राजमार्ग केन्द्रित चोक बजारमा तीज मनाउन माइत जाने चेलीहरुको चहल पहल बढेको देखिन्थ्यो । सार्वजनिक यातायातका साधन पनि भरिभराउ जस्तै थिए ।

साप्ताहिक रुपमा लाग्ने हाटबजारमा पनि बुधबार निकै चहल पहल देखिएको थियो । जिल्लाका चन्द्रौटा, पिपरा लगायतका स्थानमा आज लागेको हाट बजारमा सदाको दिनमा भन्दा निकै बढी चहल पहल रहेको देखिन्थ्यो ।

बजार पसलहरुमा श्रृंगारका सामान किन्नेहरुको भिडभाड बढेको हो । यता जिल्लाका विभिन्न शिवालय मन्दिरको सरसफाई तथा विषेश रुपमा सजावाट समेत गरिएका छन् । साथै दर्शनार्थीहरुलाई सहजताका लागि समेत व्यवस्था मिलाइएको छ ।

यस्तै कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले पनि तिजको अवसरमा सबै जिल्लाबासीलाई शुभकामना दिनु भएको छ । तिजलाई भड्किलो नबनाई पर्वको रुपमा सामान्य तरिकाले मनाउन उहाँले आग्रह गर्नु भएको छ । समाजमा हुन सक्ने सम्भावित घटनालाई रोक्न शान्ति सुरक्षामा प्रहरी सजक बन्नुपर्नेमा अध्यक्ष पछाईले विज्ञप्ति मार्फत जोड दिनुभएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १ : ३० बजे