१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले भन्छ : प्रधानमन्त्री देउवाको निष्ठामाथि प्रश्नचिह्न



काठमाडौं, ११ भाद्र ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको निष्ठामाथि प्रश्नचिन्ह खडा भएको ठहर गरेको छ ।
एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा शनिवार धुम्बाराइमा बसेको स्थायी समितिको ७७ औं बैठकले संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै प्रधानमन्त्री देउवाले संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउएको एमालेको भनाई छ ।
यस्तै, एमालेले नेपालले जलविद्युत लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउन सक्ने तथ्यप्रति चासो ब्यक्त गरेको छ ।
राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीच बर्षेनी नीतिगत परामर्श गर्ने वाध्यात्मक प्रावधान आवश्यक नरहेको समेत बैठकले निश्कर्ष निकालेको छ । भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो समाधान खोज्नुपर्नेमा त्यसतर्फ ध्यान नदिएको एमालेको ठहर छ ।
नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, बर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलले दिएको सुझाव र आम नेपाली जनताको भावनाको यथोचित सम्मान प्रधानमन्त्रीबाट हुन नसकेको एमालेले निश्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  १ : ५३ बजे