१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नगरसभाका लागि आफ्नो भवन अनुपयुक्त ! कपिलवस्तु नपाको होटेलमा नगरसभा



दिपक अनुरागी, कपिलवस्तु, १३ भाद्र ।
कपिलवस्तु नगरपालिकाले एक होटेलमा नगरसभा गरेको छ । भौतीक संरचनामा जिल्लाका अरु नगरपालिका भन्दा बलियो र नेपालको दोस्रो पुरानो नगरपालिकाको रुपमा चिनिने कपिलवस्तु नगरपालिकाले तौलिहवाको एक सुविधा सम्पन्न होटेलमा नगरसभा आयोजना गरेको हो । नगरपालिका भित्र रहेको झण्डै हजार जना अटाउन सक्ने सभाहल नगरसभा गर्नका लागि आफैलाई उत्तम भएन ! असार १४ गते भएको स्थानीय तह दोस्रो निर्वाचनबाट निर्वाचित मेयर किरण सिंहले नगरपालिकाको सभाहलमा नगरसभा नराखि सुविधा सम्पन्न होटेल रोजेका हुन् । कपिलवस्तु नगरपालिकाले आफ्नै भवन हुँदा हुँदै होटेलमा नगरसभा राखे पछि विभिन्न टिकाटिप्पणी भइराखेका छन । सरकारी रकमको व्रह्मलुट मच्चाउन होटेलमा नगरसभा राखेको आरोप नगरपालिकालाई लागेको छ । साथै नगरसभाको लागि आफ्नै भवन किन उत्तम हुन सकेन यो बिषय पनि अहिले पेचिलो बनेको छ ।
कपिलवस्तु नगरपालिका जिल्लाको सदरमुकाममा अवस्थित छ । सदरमुकाममा हुने अधिकांश राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरु यहि कपिलवस्तु नगरपालिकाको सभाहलमा हुने गरेको इतिहास छ । साथै सभा, सम्मेलन, सेमिनारको लागि नै भनेर नगरपालिकाले छुट्टै सभाहलको निर्माण गरेको हो । सभाहलमा यहाँका राजनीतिक दलका अधिवेशन देखि राष्ट्रिय महत्व बोकेका कार्यक्रम हुने गरेका छन् । देशका पुर्व प्रधानमन्त्री, बहालबाला मन्त्री, पूर्वमन्त्री तथा भिआइपि कर्मचारी समेत यहि नगरपालिकाको सभाहलमा आएर बालेका रेकर्ड छन् । तर कपिलवस्तु नगरपालिकालाई नगरसभाको लागि आफ्नै भवन अनुपयुक्त भएको छ ।
सोमबार भएको नगरसभाको प्रमुख अतिथि खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक थिए । उनि रुपन्देही नेपाली कांग्रेसका सभापति समेत हुन् । उनले अधिकांश समय सरकारले गरेका काम र नगरपालिकाले गर्नुपर्ने आगामी दिनको योजनामा खर्चिए । तर सरकारकै राज्यमन्त्रीको फुली लगाएका उनले नगरपालिकाले होटलमा नगरसभा राखेको बिषयमा चु पनि बोलेनन । यस्तै कार्यक्रमका अर्का अतिथि थिए पुर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्य । उनले पनि यस बिषयमा केहि आवाज उठाउन सकेनन ।
स्थानीय तहको चुनाव जितेर जसरी मेयर किरण सिंह चर्चाको शिखरमा थिए उनको कार्य पनि त्यहि अनुसार होस भन्ने आमजनमानसको अपेक्षा थियो । नगरपालिकालाई अरु भन्दा पृथक र समक्ष बनाउने भन्ने ध्येयमा लाग्नुपर्ने बेला लाखौ रकम खर्चेर होटेलमा नगरसभा राखि सरकारी कोषको पैसामा ब्रह्मलुट गरेको प्रष्ट देखिन्छ । नगरसभामा आफ्ना पार्टीका नेता तथा कार्यकर्ता भरि आफ्नै पार्टीको अधिवेशन झै पारेको विपक्षी दलका नेताको आरोप छ ।
विगत ४० बर्ष देखि नगरपालिका जित्दै आएका पुर्व राजपा नेता रामदास गुप्तालाई कांग्रेसका सिंहले पराजीत गरेका थिए । गुप्तालाई चुनाव हराएर चर्चाको शिखरमा पुगेका सिंह किन यति उम्लिएका हुन शंकाको बिषय बनेको छ । नेपालको दोस्रो ठुलो नगरपालिका भनेर चिनिए पनि विकास निर्माणमा निकै पछाडी रहेको छ । बर्षौ देखि राजपा नेता रामदास गुप्ताको मात्र दबदबा रहेको यस नगरपालिकामा पर्यटकिय सम्भावना पनि प्रचुर मात्रामा छ । तर अहिले नेपाली कांग्रेसले जिते पछि नगरले विकासको मुहार फेर्नेमा धेरैको आशाछ । भगवान गौतमबुद्धले २९ बर्ष विताएको संसारमै परिचित तिलौराकोट पनि यहि नगरपालिका अन्तर्रगत छ । तर विकासको हिसावले निकै पछाडीे छ ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ४ : १६ बजे