१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा मानव अधिकार एलाइन्सको प्रदेश बैठक



कपिलवस्तु, १४ भाद्र ।
प्रदेश नं. ५ अन्तरगतका जिल्लाहरुमा रहको मानव अधिकार एलाइन्सले मानव अधिकारको अवस्था बारे समिक्षा गरेको छ । ५ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनमा दलहरुले बालवालिकाको प्रयोग गरेको र विगतका निर्वाचनमा भन्दा यस पटक न्यूनीकरण भएको, निर्वाचनमा दलहरुवाट पूर्ण रुपमा आचार संहिताको पालना नभएको भए पनि अन्य हिंसाजन्य र अपराधिक कार्यहरुमा समेत न्यूनता आएको समिक्षा भएको बताइएकोछ ।

मानव अधिकार एलाइन्सको प्रदेश समितिको सिद्धार्थ सामाजिक विकास केन्द्रको कार्यालय कपिलवस्तुमा बसेको बैठकमा यस्तो समिक्षा भएको हो । त्यसैगरि मतदाता परिचय पत्रको प्रयोगले फर्जि मत हाल्ने र मतको दुरुपयोग घटेको र विवादहरु न्यून भएको समेत समिक्षा गरेको छ ।

बैठकले यस प्रदेशका सबै जिल्लाहरुमा जिल्ला भेला आयोजना गरि जिल्लाको मानवअधिकारको अवस्थामा थप सुधारका लागि बहस कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।

बैठकले सामाजिक संघसंस्थाहरुको भूमिका संकुचित पार्ने नियतले ल्याउन लागेको संघसंस्था सम्बन्धि प्रस्तावित ऐन प्रति विरोध जनाउदै यस्तो अलोकतान्त्रिक कदमले मानवअधिकारका हननका घटनाहरु बढ्न सक्ने भएकाले तुरुन्त फिर्ता लिन माग गरेको छ ।

साथै हालै आएको बाढि पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण नागरिकहरु प्रति समबेदना प्रकट गर्दै यथासिघ्र राहत एवं स्थाई बसोबास लगाएतका सेवा तथा सुविधा प्रदानको समेत माग गरेको छ ।

बैठक मानव अधिकार एलाईन्सका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक पोमनारायण पौडेलको अध्यक्षता र उपसंयोजक हरि पोखरेलको संचालन रहेको थियो ।

 

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १ : ५९ बजे