८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रोपेको एक महिना नहुँदै धानबालीमा रोगको प्रकोप



दाङ, २० भदौ ।
एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि दाङका किसान चिन्तित बनेका छन् । रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए ।

उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले चिन्तित बनेका छन् । धानको बोट बोकेर तुलसीपुरको एग्री नेपाल प्रालिमा आउनुभएकी कटकुयाँकी लक्ष्मी चौधरीले भन्नुभयो– “रोपाइँ सकेको केही हप्ता बित्न नपाउँदै धानमा रोग देखा परेको छ ।

खेतमा धानको बोट सुकेका छन् ।” उहाँजस्तै तुलसीपुर उपमहानगरपालिका तथा जिल्लाका अन्य ठाउँमा धानखेतीमा विभिन्न रोग देखा पर्न थालेका छन् । धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहँुदा बर्षेनी समस्या हुने गरेको छ ।

प्राविधिक केसीले बलाष्ट अर्थात् पातमरुवा रोगको लागि हेकजा कोनाजोल, गवारोको लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो ।

रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र रोग नियन्त्रण हुने जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतको भनाइ छ ।

उहाँले रोग हेरेर मात्र विषादीको प्रयोग गर्न सुझाव दिनुभयो । धान उत्पादनमा पाँचदेखि दश प्रतिशतसम्म गिरावट आउन सक्ने उहाँको भनाइ छ । हाल जिल्लाका घोराही, तुलसीपुर, लमही क्षेत्रमा रोगको समस्या देखापरेको छ । रासस

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १ : ४६ बजे