७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महत्वपूर्ण जडीबुटी टिमुर पाल्पामा लोप हुँदै



पाल्पा, २० भदौ ।
महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ ।संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुन थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन ।

आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमुरको मूल्य प्रति माना ३०० देखि रु ४०० पर्छ । टिमुर भदौदेखि कात्तिकसम्म टिपेर बेच्न सकिन्छ ।रैनादेवी छहरा गाउँपालिका–४ का श्रीकृष्ण आत्रेयका अनुसार सामुदायिक वनमा टिमुर प्रशस्त पाइने भए पनि संरक्षण र प्रवद्र्धनमा ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको छ । टिमुरको व्यावसायिक खेती हुन नसक्दा उत्पादन वर्षेनी घटेको छ ।

रैनादेवी छहरा गाउँपालिका–४ का तिलक थापा जथाभावी फँडानी गरेर टिप्दा टिमुर पहिलाजस्तो गरी बोट र फल नै देखिन छाडेको बताउनु भयो ।खेतबारीमा मात्र होइन अहिले वनमा समेत टिमुर कमै मात्रामा देख्न पाइने थापाको भनाइ छ । यहाँ उत्पादन भएको टिमुर रुपन्देही, कपिलवस्तु र नवलपरासीमा बिक्री गरिन्छ ।

रैनादेवी छहरा गाउँपालिका–६ मा टिमुर संरक्षणका लागि पकेट क्षेत्र बनाउने योजना रहेको सो गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । टिमुर खेतीका लागि रु एक लाखसम्म बजेट छुट्टयाएको उहाँले बताउनुभयो ।

टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि, पिसाब खुलाउन, कब्जियत, कप, पसिना निकाल्न, ज्वरो घटाउन, रगत सफा गर्न औषधिको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई अचार तथा मसलको रुपमा प्रयोग गरिन्छ भने फल तथा पातको धुलो दात माँझ्नका लागि समेत प्रयोग हुँदै आएको छ । रासस

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १० : ५७ बजे