८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता – निर्वाचन आयोग



काठमाडौं, २२ भदौ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा बिहीबार बिहान साढे ९ बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार अहिलेसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ ।
त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउनेक्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्ने छ ।
प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ । आगामी असोज २ गते हुने चुनावको मनोनयन दर्ता बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।
उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराउनुभएको थियो । चुनाव हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सिरहाकै धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  ७ : ४८ बजे