७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु यातायात बस व्यवसायी समितिको विवाद चरम उत्कर्षमा



दिपक अनुरागी, कपिलवस्तु, २४ भाद्र ।
कपिलवस्तु यातायात बस व्यवसायी समितिमा विवाद सिर्जना भएको छ । समितिका उपाध्यक्ष राज कुमार पाण्डे, सचिव महोम्मद रसिक सहितका सदस्यहरुले समितिका अध्यक्ष महोम्मद इनाम शेखले मनोमानी ढङ्गले काम गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराउने प्रक्रिया थाल्नेभएका छन् ।

उनीहरुले अध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने तयारी थालेका हुन । त्यसको लागि समितिको बिशेष साधारणसभा माग गरेको असन्तृष्ट पक्षधरका उपाध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष शेखको मनोमानी ढङ्गले काम गरेको, आर्थिक हिनामिना गरेको आरोप छ ।

अध्यक्षलाई पटक पटक बिशेष साधारणसभा बोलाउन माग गरेपनि अटेरी गरेको कारण अविस्वास प्रस्ताव ल्याउने तयारीमा लागेको उहाँले बताउनुभयो । ६५ जना साधारण सदस्य रहको समितिका सदस्यहरु मध्ये ३३ जनाले अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न थालेका हुन ।

अध्यक्षले बिशेष साधारणसभा बोलाउन नमानेको र असन्तृष्ट पक्षहरुको माग सुन्न नचाहि दादागिरी शैलीमा थर्काएको भन्दै असन्तृष्ट पक्षहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पहल गरिदिनको लागि ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याललाई ज्ञापनपत्र बुझाउँदै समितिमा देखिएको विवाद अन्त्य गरिदिन प्रशासन संग माग गरेका हुन् । आफुहरु विधान सम्वत गएको भन्दै विधान विपरित जाने अध्यक्ष संग वार्ताको पहल गरिदिन माग गरेका हुन ।

विं.सं. २०५८ सालमा स्थापना भएको कपिलवस्तु यातायात बस व्यवसायि समितिमा हाल ६५ जना बस व्यवसायि आवद्ध छन् । समितिको अधिवेशन सर्वसहमतीबाट भैरहे पनि हाल आएर विवाद देखिएको छ ।

समितिका ३३ प्रतिशत साधारण सदस्य असन्तृष्ट भए समितिको नेतृत्वले १० दिन भित्र विशेष साधारणसभा बोलाउन सक्ने व्यवस्था रहेको असन्तृष्ट पक्षको दाबी छ । कपिलवस्तु बस व्यवसायि समितिले तौलिहवा–भैरहवा, तौलिहवा –चारनम्बर, तौलिहवा – बहादुरगञ्ज लगायतको स्थानमा बस सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  १ : ४६ बजे