१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनमा तीव्रता



बासुदेव बर्मा, कपिलबस्तु, २५ भाद्र ।
अघिपछि बजार अनुगमनमा खासै चासो नदिने प्रशासनले चाडपर्वहरु नजिकिए संगै अनुगमनमा तीव्रता दिन थालेको छ । जिल्लामा वस्तु वा सेवा प्रदायकले उपभोक्ता हितविरुद्धका व्यापारिक गतिविधि नगरून् भन्ने उद्देश्यले बिशेष गरि चाडपर्व लक्षित बजारमा छड्के अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन समिती कपिलबस्तुले तौलिहवाका अधिकांश फलफुल तथा मिठाई पसल र बरफ उद्योगको अनुमगन गरेको हो ।

नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा फलफुल र मिठाईको ब्यापारमा बृद्धि हुने गरेकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुमगन गरीएको संयुक्त बजार अनुगमन समिति कपिलबस्तुका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनु भएको छ ।

चाडवाडका बेला गुणस्तरहीन सामाग्रीको विक्रि वितरण हुने भएकाले त्यसलाई रोक्नका लागि पनि बजार अनुगमनलाई प्रभाबकारी रुपमा अगाडि बढाएको अर्यालले बताउनु भएको छ ।

बजार अनुगमनमा तौलिहवाको भिक्षु चोक, गौढी चोक, नयां टोल, आन्दोलन चोक, पुरानो हाटबजारमा रहेका फलफुल तथा मिठाई पसलको अनुगमन गरीएको हो । अनुगमनका क्रममा भिक्षु् चोकको एक होटलबाट फोहोर गरिएका मिठाइका परिकार जफत गरीएको छ ।

त्यसैगरी भिक्षु चोकमा रहेको शम्भु किराना पसलबाट म्याद नाघेका खाद्यबस्तु जफत गरिएको छ । भिक्षुचोकमा संचालनमा रहेको पुनम बरफ उद्योग, दर्ता नभएको जगदिश कान्दुको किराना पसल, माइजु होटल, शम्भु किराना पसलको अनुगमन गरेको छ ।

पसलमा सडेगलेका मिठाईहरु बिक्रिका लागि राखिएको र अत्याधिक फोहोर भएका कारण समान जफत गरि नष्ट गरिएको अनुगमन टोलीमा संलग्न घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका कार्यालय प्रमुख मनोज शैनीले बताउनु भयो । अनुगमन टोलीले आन्दोलन चोकमा रहेको बिशाल फलफुल तथा तरकारी पसल र बैंकरोडमा रहेको मुस्कान फुड एण्ड सब्जी सेन्टरमा राखिएका स्याउ, केरा लगायतका फलफुलमा प्रतिबन्धित औषधी प्रयोग गरिएको भेटाएको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलहरु बिना दर्ता संचालन गरीएको, मुल्यसुची टाँस नगरीएको र सरसफाई नभएको भेटिएको थियो । दर्ता नभएका पसलहरुलाई दर्ता गरेर मात्र पसल संचालन गर्न निर्देशन गरीएको छ । मुल्यसुचि नभएका पसलहरुलाई मुल्यसुचि टाँस गर्न सुझाब दिनुका साथै सरसफाईलाई बिशेष ध्यान दिन अनुरोध गरीएको प्रशासकिय अधिकृत पुनाराम पौडेलले बताउनुभयो ।

बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्री वितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनमा तिब्रता दिएको हो । बजार अनुगमनमा नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतका सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  १ : ५५ बजे