११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पितृमोक्षको कामना गर्दै कपिलधाममा साधुसन्तलाई भण्डारा



चुरामणि अर्याल, कपिलवस्तु, २६ भाद्र ।
महर्षी कपिलमुनिको आश्रम कपिलधाम कपिलवस्तुमा सोह्र श्राद्धको अवसर पारी सोमवार (आज) भण्डारा खुवाइएको छ ।

पितृ मोक्षको कामना गर्दै वाणगंगा–९ निवासी रामशमुज थारु र ८ निवासी त्रिवेणी थारुको नेतृत्वमा यस क्षेत्रका सय बढि साधुसन्तलाई कपिलधाममा भोजन गराइएको छ । सो भण्डारामा समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

दशैं अघिको १६ दिने सराद(श्राद्ध)को सोमवार पन्चमी तिथि पारी वाणगंगा नगरपालिका भित्र भएका साधुसन्तलाई विभिन्न परिकारहरु भोजन गराई तृप्त पारिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।

१६ श्रादमा खासगरी परलोकमा भएका पितृहरूलाई आफ्नो तिथिमा आफूलाई मीठो लाग्ने या आफूले खाइने खाद्यपदार्थ आदरपूर्वक अपर्ण गर्ने चलन छ । पितृ वायवीय शरीरमा यसै आश्विन कृष्ण पक्षमा आफ्नै घर वरपर घुम्छन् भन्ने मान्यता रहेको छ ।

पितृ भन्नाले परलोक भएका मातापिता लगायत मावली र घरतर्फका मृतात्मालाई मान्ने चलन छ । वि.स.२०६८ सालमा स्थापना भएको यस कपिलआरोग्य मन्दिर कपिलधामले विभिन्न समयमा कार्यक्रमहरु गर्दै आएको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ११ : १० बजे