६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

रामपुर नगरपालिकाको बजेट ४९ करोड



रामपुर (पाल्पा), २७ भाद्र ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रमणबहादुर थापाले कूल ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गर्नुभएको हो ।
नगर प्रमुख थापाले भवन निर्माणमा रु दुई करोड, फर्निचर खरिदतर्फ ३५ लाख, मेसिनरी उपकरणतर्फ एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड ६२ लाख ५० हजार रकम विनियोजन गरिएको बताउनुभयो ।
यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु तीन करोड २५ लाख, आन्तरिक आय वृद्धिका लागि व्यापारिक भवन÷ट्रस निर्माणका लागि रु दुई करोड, विपद् व्यवस्थापन तथा मर्मत सम्भारतर्फ ६५ लाख र समपूरक कोषका लागि दुई करोड १५ लाख १७ हजार, विषयगत कार्यक्रमतर्फ १७ करोड ५५ लाख ९१ हजार, सामाजिक सुरक्षातर्फ पाँच करोड र गत आर्थिक बर्षको बाँकी योजनाको भुक्तानी दुई करोड १२ लाख १२ हजार बजेट सार्वजनिक गरिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ३० करोड ८३ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष थापाका अनुसार सडकतर्फ छ करोड २९ लाख १५ हजार, खानेपानीतर्फ ८६ लाख ८५ हजार, शिक्षातर्फ ६५ लाख ८० हजार, स्वास्थ्यतर्फ ६८ लाख ५१ हजार र सिँचाइतर्फ २५ लाख २० हजार रकम विनियोजन गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो । गाउँसभाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइलाई जोड दिएको कार्यकारी अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ४८ बजे