७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टीकापुर क्याम्पसलाई आंगिक बनाउने नबनाउने विषयमा बहस शुरु, विवाद र बहस संग संगै !



धनराज कटेल, कैलाली, २७ भदौ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगे संगै देशमै सबै भन्दा बढी विद्यार्थी भएको क्याम्पसमध्ये पर्ने टीकापुर बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन हुने, नहुने भन्नेमा सामाजिक स्तरमा बहस, विवाद शुरु भएको छ ।

क्याम्पस प्रशासन र संचालक समिति आंगिक क्याम्पस बनाउनु पर्ने पक्षमा छ । यहाँका कतिपय सामाजिक अगुवा भने आंगिक क्याम्पस बनाउन नहुनेमा पक्षमा छन् । आंगिक बन्नु पर्ने र बन्न नहुने भन्ने सामाजिक संजालहरुमा समेत बहसको विषय बन्न थालेको छ । राज्यको लगानीमा संचालन हुँदा विद्यार्थीहरुले कम शुल्कमा पढ्न पाउनुका साथै क्याम्पसले नयाँ–नयाँ विषय र संकाय थप्न पाउने भएकाले विश्वविद्यालयको आंगिक क्याम्पस बन्नु उपयुक्त हुने तर्क क्याम्पस प्रशासन र संचालक समितिको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पनि नदिने र नयाँ विषय र संकाय पनि थपको अनुमति नदिने भएकाले अहिलेकै संकायले मात्र भविष्यमा क्याम्पस संचालनमा समस्या आउन सक्ने भनाई प्रशासन र संचालक समितिको छ ।

तर आंगिक क्याम्पस बन्दा राजनीति बढी हुने भएकाले शैक्षिक गुणस्तर खस्किनुका साथै छुट्टै विश्वविद्यालय बन्न सक्ने संभावना रहेकोमा आंगिक बनेसंगै कैलाली बहुमुखी क्याम्पसको त्यो संभावना पनि समाप्त हुने तर्क कतिपय नागरिक अगुवाले गरेका छन् ।

टीकापुर बहुमुखी क्याम्सका क्याम्पस प्रमुख केशर बहादुर कुवँरले टीकापुर बहुमुखी क्यापस सुदुरपश्चिम विश्वविद्यालयमा गाभिदा उत्सव मनाउनुपर्ने समयमा कतियले यसको महत्व नबुझेकाले यसको बिरोद गरेको प्रतिक्रिया दिएका छन । उनले क्याम्पसका नाममा भएको सम्पति क्याम्पस कै नाममा रहने भएकाले केहि ब्याक्तिले नबुझेर क्यापसको सम्पति सरकारको मातहतमा जार्ने तर्क गरेको बताए ।

त्यस्तै टीकापुर बहुमुखी क्याम्पसका स्थापक क्याम्पस प्रमुख प्रा. जगत बहादुर रावलले टीकापुर बहुमुखी क्याम्पस विश्वविद्यालयमा गाभिनु सकारात्मक कुरा भएपनि क्याम्पसको सम्पति माथि कति सम्मको अधिकारी दिने भन्ने विषयमा स्थानिय स्तरमा बहस हुनुपर्ने बताएका छन । तर क्याम्पसका संस्थापक स्ववियु सभापति टेकेन्द्र धामिले भने क्याम्पसको आफ्रनै अथाह सम्पति र भौतिक पुर्वाधारको सम्भावना हुदा हुदैपनि क्याम्पस प्रशासनले कुनै छलफल नै नगरि कर्मचारीले आफ्नो स्वार्थका लागि आत्मसपर्मपण गरेको आरोप लगाएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले सबै भन्दा पहिले २०६९ सालमा कैलाली बहुमुखी क्याम्पस र बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय पारित गर्दै स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको थियो । त्यसयता त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त थप १३ सामुदायिक क्याम्पसलाई आंगिक बनाउने निर्णय विश्वविद्यालय सभाले पारित गरेको थियो ।

मन्त्रालयको निर्णयपछि कैलाली बहुमुखी र जयपृथ्वी क्याम्पससहित कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया र टिकापुर बहुमुखी क्याम्पस टिकापुर, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पस तथा बाजुराको बडिमालिका बहुमुखी क्याम्पस र बाजुरा बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्ने बाटो खुल्ने छ ।

यस्तै डोटीको सीताराम बहुमुखी क्याम्पस र घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र दार्चुला बहुमुखी क्याम्पस तथा अछामको जनता बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय पारित गर्दै विश्वविद्यालय सभाले स्वीकृतिका लागि केन्द्रमा पठाएको थियो ।

 

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  ४ : ०६ बजे