१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रविधियुक्त बन्दै सिद्धार्थ क्याम्पस



कपिलवस्तु, ४ असोज ।
विश्व विद्यालय अनुदान आयोग अन्तर्गत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न अग्रसर रहेको कपिलवस्तुको पहिलो स्नातकोत्तर क्याम्पस सिद्धार्थ क्याम्पस बाणगंगा आधुनिक प्रविधियुक्त हुने भएकोछ ।
विश्व विद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनामा संलग्न उक्त क्याम्पसले शैक्षिक तथा व्यवस्थापकीय गुणस्तरमा सुधार गर्नको लागि प्रत्येक कक्षाकोठामा सिसि टि.भि. क्यामरा जडान गर्ने, मल्टि मिडिया प्रोजेक्टर जडान गर्ने, प्रत्येक विषयगत विभागहरुलाई ल्यापटप कम्प्युटर व्यवस्था गर्ने योजना सोमबार सम्पन्न क्याम्पस सञ्चालक समितिको १३ औं बैठकबाट अघि सारेकोछ ।
क्याम्पसलाई प्रविधियुक्त बनाउन यस अघि नै पुस्तकालयमा बारकोड सिस्टम सहित इ–लाईब्रेरीको व्यवस्थापन गरिसकेकोछ भने लेखा तथा प्रशसनलाई व्यवस्थित गर्न सप्टवयरबाट काम शुरु गरिसकेकोछ । क्याम्पसले प्राध्यापकहरुलाई पनि प्रविधिमैत्री बन्दै अघि बढनका लागि प्रोत्साहन गर्ने क्याम्पस प्रमुुख बालाराम ज्ञवालीले बताउनु भयो ।

त्यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न सघाउ पुर्रयाउने उद्धेश्यले “छात्रवृत्ति अक्षयकोष” स्थापना गर्ने निर्णय गर्दै क्याम्पसका अभिभावक तथा शुभचिन्तक बाणगंगा १० पटना निवासी विष्णु गौतमले उक्त कोषकोलागि प्रदान गर्नुभएको ५० हजार रकम स्वीकार गरेकोछ । उक्त अक्षयकोषमा योगदान गर्नकालागि अन्य शुभेच्छुहरुलाई आह्वान समेत गरेकोछ ।

त्यसै गरि बैठकले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यू. ए. ए.) प्रकृयालाई तीब्रताका साथ अघि बढाई यसै आर्थिक वर्ष भित्र क्याम्पसलाई कपिलवस्तु जिल्लामै पहिलो पटक क्यू. ए. ए. मान्यता प्राप्त गराउनको लागि तीब्रताका साथ काम अघि बढाउन प्राध्यापक प्रतिनिधि समेत रहनुभएका उप प्राध्यापक गोविन्द खनाललाई विषेश जिम्मेवारी समेत प्रदान गरेकोछ ।
बैठकले क्याम्पसका संस्थापक सदस्य एवं सामाजिक व्यक्तित्व रुद्रबहादुर कुवंरको गत भाद्र ३० गते भएको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट समेत गरेकोछ ।

सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा तथा क्याम्पस प्रमुख बालाराम ज्ञवालीको सञ्चालनमा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष रविबहादुर काफ्ले, नगरपालिका प्रतिनिधी गणेशबहादुर खत्री लगायत सञ्चालक समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ०५ बजे