८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त



काठमाडौं, ६ असोज ।
संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता सुरु गर्नुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई अपराह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले यही असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुग्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । साथै, उहाँहरुबीच सार्क क्षेत्रका समस्या र सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो ।

सौहार्दपूर्ण वातावरणमा भएको कुराकानीमा श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले नेपालको आनन्दकुटी विहार र मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको बिहीबार नै अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टाछुट्टै भेटवार्ता सम्पन्न भएको छ ।
ती भेटमा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तार गर्नेसम्बन्धी कुराकानी भएको जानकारी गराउँदै डा भट्टराईले भन्नुभयो, ‘पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री देउवालाई पाकिस्तान भ्रमणको निम्तो दिनुभयो ।’
सबै भेटमा उहाँहरुबीच यस क्षेत्रका समस्याका साथै क्षेत्रीय सम्बन्ध विस्तारका बारेमा समेत कुराकानी भएको थियो । भेटमा जनता जनताबीचको सम्बन्ध, व्यापार, ऊर्जालगायतका विषयमा छलफल भएको डा भट्टराईले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्र संघको ७२औँ महासभालाई प्रधानमन्त्री देउवाले शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  २ : ३६ बजे