१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरीयामा कार्यरत १६ नेपालीले लिए आधुनिक कृषि तालिम



शिब भुसाल, उत्तर कोरीया, (सिओल), ११ असोज ।
रोजगारीको शिलशिलामा कोरीयामा आएका १६ जना नेपालीलाई कोरीया सरकारले आधुनिक कृषि तालिम प्रदान गरेको छ । कोरीया सरकार अन्तरगत कीमे नगरपालिकाले सञ्चालन गरेको उक्त ६ महिने तालिममा नेपालको मौसम अनुसार खेती गर्न सकिने विभिन्न कृषि उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको तालिमका नेपाल संयोजक यज्ञराज सुवेदीले जानकारी दिए ।
तलिममा नेपालको मौसम अनुसार उत्पादन गर्न सकिने जस्तै धान, टमाटर, खुर्सानी, स्ट्रवेरी जस्ता खाद्य तथा तरकारी जन्य वस्तुको आधुनिक प्रविधिबाट उत्पादन गर्ने तरिकाको बारेमा सिकाईएको थियो । उक्त ६ महिने अवधिको तालिमबाट सिकेको सिपलाई नेपालमा गएर सदुपयोग गर्ने तालिममा सहभागीहरुले बताए । कोरीयामा लामो समयसम्म काम गरेर नेपाल फर्किँदा पैसा सँगै सिप पनि लिएर जाउन भन्ने उद्धेश्यले तालिम प्रदान गरिएको कीमे नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ६ महिनासम्म तालिममा सहभागी भएर सिप सिकेका प्रशिक्षार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि दिक्षित पनि गरेको छ । नेपाल जस्तो कृषिप्रधान मुलुकबाट आएका नेपालीहरुलाई तालिम निकै नै उपयोगी रहेको दीक्षित प्रशिक्षार्थी भुवन कुमार बस्नेतले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : ५० बजे