१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा यसरी मनाइयो विजयादशमी, आज पनि टिका थाप्ने क्रम जारी



माायदेवी अनलाइन, कपिलवस्तु, १५ असोज ।
बडादसैँको दोस्रो दिन आइतबार पनि आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षौउल्लासका साथ मनाइदै छ । दशै“ घरमा प्रतिपदाका दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक यस दिन विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाईने गरिन्छ । आइतबार पनि घर घरमा आफुभन्दा मान्यजनबाट टिका लगाउने कार्य जारी रहेको छ ।
द्वापर युगमा भगवान् रामले असत्य आसूरी शक्तिको प्रतीक रावणमाथि सत्य विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीलाई लिईने गरिएको छ । मीठो खाने, राम्रो लाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा आज विजादशमी मनाईदैछ । १० दिनसम्म मनाइने बडादसै पर्व धार्मिक मात्र नभएर सामाजिक सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानीएको छ ।
यस दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, अटल सौभाग्य तथा दीर्घायुको आशीर्वाद लिएको छ ।
परिवारमा आफूभन्दा ठूलाबडा तथा मान्यजनको हातबाट टीका, जमराका साथमा आशीर्वाद लिई अहिले पनि कपिलवस्तु सहित देशभर महानचाड दशै मनाईदै छ । तर टाढाटाढाबाट आउने आफन्तजनहरूले भने कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने परम्परा रहिआएको छ ।
निधारभरि दहीमा मुछिएको अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरिन मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज कपिलवस्तुमा विशेष चहलपहल देखिएको थियो । कपिलवस्तुका मुख्य सडक ४ नं, गजेहडा, वनगाई, वोडगाँउ, गौरुसिगे, ईमिलीया, चन्द्रौटा, तौलीहवा लगाएतका क्षेत्र तथा भित्री गाँउहरुका सडकमा टीका लगाएर आफन्तकोमा जाने–आउनेहरूको भिडभाड लागेको थियो । सडकमा देखिएका अधिकांशको निधारमा रातो टीका र कान तथा कपालमा पहेँलो जमरा देखिएका थिए ।
शनिबार विजया दशमीको टिकाको दिन भएकोले पनि सर्वसाधारणहरु आफन्तकोमा आर्शिवात लिन तथा टिका लगाउन प्रसाद लिएर जानको मिठाई र फलफुल पसलहरुमा पनि भिडभाड देखिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : १६ बजे