११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

देशको राजनीतिक स्थायित्वको निम्ति वामपंथीसंग तालमेल – नेता ज्ञवाली



दिपक अनुरागी, कपिलवस्तु असोज १७ ।
नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव देशको राजनीतिक स्थायित्वको निम्ति निर्णायक हुने बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तुले मङ्गलबार पकडीमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले नौ नौ महिनामा सरकार फेर्ने राजनीतिक संस्कारको अन्त्य गर्न पनि मंसिरमा हुने चुनाव महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।
नेता ज्ञवालीले गएको केही हप्तादेखि माओवादी केन्द्र संगको सम्बादले एमाले र माओवादी केन्द्रबीच आउने प्रदेश र संघको निर्वाचनमा तालमेल गरेर बहुमतको सरकार बनाउने बताउनु भएको छ । उहाँले प्रदेश र संघको निर्वाचनमा जादा माओवादी केन्द्र पनि सूर्य चिन्ह लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने घोषणा गर्नुभएको छ । उहाँले बहुमतका साथ बन्ने सरकारले कुनै व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री बनाउन नभई जनता र देशको सम्बृद्धिको लागि बन्ने बताउनु भएको छ ।
पूर्वमन्त्री समेत रहेको ज्ञवालीले २००७ साल पछि नेपाली कांग्रेसले तीन तीन पटक बहुमत प्राप्त गरेपनि देशको लागि केहि गर्न नसकेको आरोप लगाउनुभयो ।
चुनावमा कुनै पनि दलको एकल बहुमत नआउने र सरकार सधै अस्थिर हुने क्रम बढेको भन्दै प्रगतिशिल, बामपंथी र देशभक्त पार्टी विच पार्टी एकता र चुनाव तालमेल हुन लागेको स्पष्ट पार्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा पाँच नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहमम्द खाँन, माओवादी केन्द्रका केन्द्रिय सदस्य विनोद चौधरी, राजपाका जिल्ला स्तरका नेता जगन्नाथ कुर्मी, नबिन चौधरी लगाएत गरी २ हजार बढि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  २ : २१ बजे