१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभुमिको नमूना सडक दुई साता पनि टिकेन



कपिलवस्तु, १८ असोज ।
कपिलवस्तु बुद्धभुमि नगरपालिकाले मोर्मामा बनाएको नमुना सडकमा ठेकेदारको चरम लापर्रबाही भएको देखिएको छ । सडक निर्माण भएको दुई हप्ता मै सडक भत्किन थालेपछि ठेकेदारको चरम लापर्रबाहि भएको देखिएको हो । नगरपालिकाले नमुना सडक नामाकरण गरि दिएको रकम र उपभोक्ताले गरेको जनश्रमदान बालुवामा पानी खनाए सरी भए पछि मोर्माबासी अहिले चिन्तित बनेका छन् । उक्त सडक निर्माणमा नेपाल सरकारको ४६ लाख ८ हजार र उपभोक्ताको ८ लाख गरि कुल ५२ लाख ८ हजार ९ सय ८५ रुपैया परेको छ । आ.ब. ७३÷७४ को असार भित्रै काम सम्पन्न गर्ने गरि ठेकेदारलाई जिम्मा दिइएको थियोे । तर निर्माण सम्म खुशी बनेका मोर्माबासीको खुशी २ साता पनि टिक्न नसकेको हो ।

उपभोक्ता समितिले काम गर्ने जिम्मा लिएको उक्त सडकको काम बाणगंगाको सगरमाथा निर्माण सेवालाई जिम्मा दिइएको थियो । तर ठेकेदारले काम गुणस्तरहीन गरेर मोटो रकम कमाएको प्रष्ट देखिएको छ । उपभोक्ता समितिले पनि सहभागिता बापतको ८ लाख रकम ठेकेदारबाट र्फिता लिएका थिए । जसका कारण थोरै रकममा निर्माण कार्य गरियो र कमसल सडक निर्माण गरिदा सडकको गति यस्तो हुन पुगेको हो । सडक बोर्डबाट साबिक भृकुटी नगरपालिका हुदा आएको उक्त रकमबाट निर्माण गरिएको सो सडक नराम्ररी विग्रिएको छ । सडकमा यातायातका साधन गुड्ने वित्तिकै कालोपत्रे भत्किने गरेको छ । रोलर गरेका जिरा हातैले उप्किने गरेको उपभोक्ता समितिकै सदस्य महादेव थारु बताउँछन् ।
उपभोक्ता समितिका अध्यक्ष नुनिया थारुले ठेकेदार अनिल मल्लले आफुहरुलाई ठगेको दाबी गर्दछन् । स्तरीय सडक निर्माण गरिदिने भन्दै जिम्मा दिएकोमा निकै कमसल सडक बनाएर २ हप्तामै भत्किएको अध्यक्ष नुनियाको आरोप छ । उपभोक्ता समितिले सम्झौता गरेको योजना ठेकेदारालाई दिनु गलत र गैरकानूनी भएको स्वीकार्दै उनले आफुहरु संग प्रयाप्त निर्माण साधन नभएको कारण ठेकेदारको सहयोग लिएर काम गरेको बताए । “हामी संग सडक निर्माण गर्ने साधनश्रोत नभएको कारण ठेकेदार मल्ललाई काम दिएका थियौ तर अहिले बर्बाद भयो” उनले भने । उपभोक्ता समितिलाई दिएको नमूना सडक निर्माणको काम गुणस्तरहीन भएपछि बुद्धभूमी नगरपालिकाले समेत यसबारे चासो देखाएको छ । नगरप्रमुख केशव श्रेष्ठले भत्किएको उक्त सडकको पूर्ण मर्मत गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । “समितिले काम गर्दा आफै गर्न नगरपालिका संग सम्झौता गर्नुभएको छ, कस्लाई ठेक्का दिनुभयो हामीलाई थाहा छैन, विग्रेको सडक तत्काल मर्मत गर्न मैले निर्देशन दिएको छु ” उनले भने । यता समितिले आफ्नो सबै रकम ठेकेदारलाई दिएको भन्दै ठेकेदारले मर्मत गरिदिन आग्रह गरेका छन् । ठेकेदार अनिल मल्लले भने आफुहरुले समितिको आग्रहमा उपकरण तथा निर्माण सामाग्री सहयोग मात्र गरेको बताएको छ ।

५२ लाखको मोर्मा–बेलडाँडा नमूना कालोपत्रे सडक २ सातामै भत्किनु कमजोरी मात्र नभई भ्रष्टाचारको उपज समेत भएको स्थानीयबासीको आरोप छ । सम्बन्धित निकायले तत्काल छानबिन गरि दोषिलाई कारवाही र सडकक मर्मतमा चासो देखाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  २ : ३२ बजे