११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

ओली, प्रचण्ड र भट्टराईको पत्याउनै गाह्रो मिलन



काठमाडौं, असोज १७ । सबै दसैँको रमझममा व्यस्त भएका बेला देशमा पत्याउनै गाह्रो हुनेगरी ठूलो राजनीतिक तरंग उत्पन्न भएको छ । एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा मात्रै होइन, सहमतिपत्रमै हस्ताक्षर गरेर एमाले, माओवादी र नयाँ शक्ति पार्टीका नेताहरुले सबैलाई चकित बनाइदिएका छन् । मंसिरमा हुने चुनावमा तालमेल गर्ने, त्यसपछि अरु बाम पार्टीलाई समेत सहभागी गराएर पार्टी एकतालाई मूर्त रुप दिने र दुई तिहाईको सरकार बनाएर देशलाई उन्नतिको मार्गतिर डोहोर्याउने उनीहरुको भनाई र सहमति आफैंमा रोचक छ ।
हिजोसम्म एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने एमाले र माओवादीले चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने कुरा सुनेर दुवै पार्टीका कार्यकर्ता समेत छक्क परिरहेको बेला नयाँ शक्ति पार्टी समेत मिसिएपछि राजनीतिमा असम्भव भन्ने केही रहेनछ भन्ने सबैलाई लागेको छ । त्यसो त पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदा र ओलीमाथि अविश्वास प्रस्ताव राखेर कांग्रेसलाई साथ दिने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिमा असम्भव भन्ने केही हुन्न भनेकै थिए । अहिले एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानको घोषणा गर्दा पनि प्रचण्डले यही कुरा दोहोर्याएका छन् ।
नेता र कार्यकर्ताले खचाखच भरिएको राष्ट्रिय सभागृहमा मंगलबार तीन पार्टीका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर र आपसमा हातेमालो गर्दै पार्टी एकताको लागि औपचारिक अभियान सुरु भएको घोषणा गर्दा एकथरीलाई अब देशमा केही होला भन्ने आशा पलाएको छ । तर यो यात्रा कहिलेसम्मलाई हो भन्ने आशंका गर्नेहरुको संख्या पनि ठूलो छ । स्वयं एमाले, माओवादी र नयाँ शक्ति पार्टीकै धेरै नेता कार्यकर्ता यो सत्ताको लागि खेल हो या दीर्घकालिन मेल हो भन्ने अलमलमा छन् ।
नेताहरुले भित्रभित्रै तयारी गरेपनि सतहमा अकस्मात देखिएको यो राजनीतिक तरंग १२ बुँदे समझदारीपछिको अर्को ठूलो राजनीतिक भूकम्प हो भनेर टिप्पणी गर्नेहरु पनि छन् । अब देशले कोल्टे फेर्ला कि झन् पल्टिएला भनेर बहस गर्नेहरुको संख्या पनि ठूलो छ । एमालेलाई सिध्याउने खेल हो भनेर आशंका गर्नेहरु पनि धेरै छन् ।
बामपन्थी र प्रजातान्त्रिक धु्रवीकरण होस्, संसदमा कुनै एकको बहुमत होस् र बहुमत प्राप्त सरकार बनाउन यो विश्वव्यापी संसदीय अभ्यास हो भन्नेहरुको संख्या पनि कम छैन । तर यो यात्रा कहिले र कहाँसम्मको लागि हो भनेर शंका गर्नेहरु धेरै छन् ।
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि अहिलेसम्मको घटनाक्रमलाई हेर्ने हो भने बाम दलहरु टुट, फुट, एकता बिछोड र पुनर्मिलनको श्रृङ्खलामा अल्झिएका छन् । देश र नागरिकको हितमा भन्दा व्यक्तिगत र पार्टीगत स्वार्थका कारण टुटफुट र एकता हुने गरेको तथ्य सबैसामु छर्लंग नै छ ।
अहिले व्यक्तिगत र गुटगत सवार्थ अनि पद र शक्ति प्राप्तिको लागि नभएर ठोस र वस्तुनिष्ठ उदेश्यकासाथ एकता अभियान सुरु भएको हो भनेर भन्न सकिने गतिलो आधार देखिंदैन । हिजोसम्म एक अर्को पार्टीलाई सत्तोसराप गर्ने नेता कार्यकर्तालाई संयमित बनाउने, प्रतिनिधिसभा र प्रदेश सभा चुनावको लागि उम्मेदवार बन्न ठीक्क परेका नेताहरुलाई थामथुम पारेर मिलाउने चुनौति उत्तिकै छ । त्यसैले एमाले, माओवादी र नयाँ शक्ति पार्टीको एकीकरण अभियान कहाँ र कहिलेसम्मलाई हो, यसै भन्न मुश्किल छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ५ : ०२ बजे