८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कागबेनीमा बस दुर्घटनाः मुक्तिनाथबाट फर्किँदै गरेका तीनजनाको मृत्यु, २० घाइते



मुस्ताङ, असोज १८ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोमका लागि छुटेको तीर्थयात्री रहेको बस मंगलबार बेलुका कागबेनीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, बस चालक बागलुङका खेमबहादुर बुढामगर र काठमाडौंको कीर्तिपुर–१२ की शर्मिला दुलालको घटनास्थलमै ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरी निरीक्षक अर्जुनबहादुर ढकालका अनुसार बस बे्रक फेल हुँदा दुर्घटना भएको हो । त्यही स्थानमा दुई महिनाअघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो ।
घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरे पनि जीर्ण बेनी–जोमसोम सडक र रातको समयमा हवाई उडान सम्भव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ६ : ५१ बजे