१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चुनावको मुखमा वाम चुनावी गठबन्धन अस्वाभाविकः कांग्रेस



काठमाडौं असोज १८ ।
सत्तारुढ दल नेपाली कांग्रेसले चुनावको संघारमा कम्युनस्टि पार्टीहरूबिच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबिच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट कांग्रेसले आउँदो चुनावमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको मंगलबार बेलुका बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबिच भएको एकताको कदमलाई अस्वभाविकरूपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर ऐतिहासिक राजनीतिक भुल भएको बताउनुभयो । यस कदमले माओवादीलाई राजनीतिकरूपमा ठूलो क्षति हुने उहाँको भनाई छ ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री देउवाले ‘सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ’ भन्नुभएको नेता निधिले जानकारी दिनुभयो ।
यस्तै मंगलबार दिउँसो ३ बजे पनि अध्यक्ष प्रचण्डले फेरि प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो । त्यो भेटमा अध्यक्ष दाहालले एमालेसँग चुनावी तालमेल गर्ने, आफ्नौ चुनाव चिन्हमा चुनाव लड्ने, कम्युनिस्ट पार्टी्बिचको एकतालाई पहल गर्ने र निर्वाचनसम्म यही सरकारमा रहने आफ्नो पार्टीको निर्णय सुनाएर बाहिरिनुभएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ७ : ५३ बजे