४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

घुम्ती ऐनाले जोखिम बढाउँदै, गुणस्तरहीन क्याटआई लगाउँदा चालकलाई हैरानी



भुपाल थापा, कपिलवस्तु, १९ असोज ।
बिपरित दिशाबाट आएका गाडीहरु एक आपसमा देखिने गरी घुम्ती सडकहरुमा राखिने घुम्ती ऐना (कन्भेक्स मिरर) ले सडक दुर्घटना र ध्वनि प्रदुषण कम हुने बिश्वास गरिएको हुन्छ । सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र पहिचान गरी कपिलवस्तुका बिभिन्न स्थानमा कन्भेक्स मिरर राखिएको भएपनि त्यस्को उपलब्धी शुन्यसरह भएको छ । सो संगै सडकको मोडमा लगाइने क्याट आई (चम्कने विशेष किसिमको सिग्नल) गुणस्तरहीन हुँदा रात्रीकालिन सवारी चालकले सास्ती भोग्नु परेको छ ।
पूर्व–पश्चिम मुख्य राजमार्ग अन्र्तगत कपिलवस्तुको ११५ किमी क्षेत्रमा क्याटआई जडान गरिएको छ । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ५ शिवपुरले १ हजार क्याट आई लगाउन गुप्ता निर्माण सेवा दाङ्गलाई ठेक्का दिएको थियो । दुर्घटनाको सम्भावना रहेको घुम्ती तथा मोडहरुको सडकका दुबै किनारमा जडान गरिएका क्याट आई जडान गरेको दुई महिनामै विग्रिएपछि रात्रीकालिन रुटका सवारी साधन झुक्किने गरेका छन् । जसकारण दुर्घटनाका सम्भावनाहरु समेत बढेको छ ।
जिल्लाको शिवराज नगरपालिकाको चोर खोला, सुरई खोला र खरेन्द्रपुरको मोडमा दुर्घटनाको जोखिम कम गर्न कन्भेक्स मिरर र क्याटआई राखिएको छ । ति मोडहरुमा वर्षेनी दर्जनौं दुर्घटना हुने भएकाले अत्यन्त जोखिमपूर्ण स्थान पहिचान गरि उक्त कन्भेक्स मिरर र क्याटआई राखिएको हो । गतबर्ष मात्र जडान गरिएका अधिकांश घुम्ती ऐना अहिले तोडफोड भएपछि सुरक्षा भन्दा पनि दुर्घटनाको जोखिम बढेको छ ।
तिखो घुम्तीमा राखिएका अधिकांश कन्भेक्स मिरर अहिले फुटेका छन् । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत पर्ने चोर खोला र सुरई खोलामा राखिएका ऐना काम नलाग्ने गरि तोडफोड गरिदा समेत संबन्धित निकाय मौन रहेको छ । पूर्व–पश्चिम मुख्य राजमार्ग अन्र्तगत कपिलवस्तुको ११५ किमी क्षेत्रमा बिभिन्न घुम्तीमा सुरक्षित यात्राका लागी कन्भेक्स ऐना राख्नैपर्ने भएपनि ३ वटा घुम्तीमा मात्र उक्त ऐना राखिएका छन् । गत बर्ष वाणगंगा यातायात व्यवसायी समिति, नेपाल किसान ट्याक्टर समिति र कृष्णनगर जिप व्यवसायी समितिको सहयोगमा कन्भेक्स मिरर त्यस ठाउमा राखिएको थियो ।
ऐना फुटेपछि सडकमा आएका समस्याका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गुनासो आउने क्रम समेत बढेको छ । सडक डिभिजन कार्यालयसंग समन्वय गरि उक्त ऐनाको मर्मत संभार गर्न तर्फ आफुले सक्दो पहल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अम्मर बहादुर कार्कीले बताउनुभयो । मिरर जडान गरि दुर्घटना न्युनिकरण गर्न जिल्लाका संघ संस्थाको सहयोगका लागी समेत कुराकारी भइरहेको उहाले बताउनुभयो । “सडक डिभिजन कार्यालयसंग हामीले त्यस बिषयमा कुरा उठाएका छौं, बजेट अभाव छ” प्रहरी निरिक्षक कार्कीले भन्नुभयो । जिल्ला प्रशासन, सडक डिभिजन र प्रहरीको सहमति पछि कपिलबस्तुका उक्त क्षेत्रमा ऐना राखिएको थियो ।
कन्भेक्स मिररको टुटफुट संगै सवारीसाधनको बत्तिको प्रतिउत्तर स्वरुप चम्कीएर अगाडी मोड रहेको अग्रिम जानकारी दिने क्याटआइले फरक दिशा देखाएको र नचम्कने हुदा समस्या बढेको गुनासो आइरहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ । गुणस्तरहीन क्याटआई तत्काल हटाउन सडक डिभिजन कार्यालय संग अनुरोध गरेको कार्यालयका प्रहरी निरिक्षक कार्कीले बताउनुभयो । मोड, घुम्ति जस्तो संवेदनशील स्थानमा झुक्काउने र नचम्कने क्याट आई लगाउनु भनेको दुर्घटना गराउने कारण बन्नु भएको भन्दै उहाले गुणस्तरीय क्याटआई लगाउन डिभिजन सडक कार्यालयलाई पत्राचार गरिसकेको समेत उहाले बताउनुभयो ।
मोड, घुम्तीमा लगाइएका गुणस्तरहीन क्याटआई तत्काल हटाउन पहल भइरहेको पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ । कार्यालयसंग प्रयाप्त बजेट नहुंदा सो समस्या तत्काल समाधान हुन नसक्ने समेत बताइएको छ । क्याटआइको उचित ब्यबस्थापन गर्दै कन्भेक्स ऐना अझै ७ स्थानमा राख्न सके कपिलवस्तु जिल्लामा हुने सवारी दुर्घटना न्युनिकरण हुने ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
१३ बर्ष देखि नारायणगढ दाङमा वस चलाउदै आउनुभएका ४४ बर्षिय लिल बहादुर कुंवरले घुम्तीमा दुबै तिरका चालकले देख्ने गरी राखिएको ऐनाले आफुहरुलाई निकै सजिलो हुने गरेको बताए । टाढैबाट आएको गाडी ऐनामा देखिएपछि सजिलो भएको हुन्थ्यो, उनी भन्छन् घुम्तीमा लगाइएको ऐना फुटेपछि अहिले निकै गाहे भएको छ । कन्भेक्स ऐनालाई प्रति ऐना ३० हजार भन्दा बढि रकम पर्ने गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  १ : ३२ बजे