१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बसपार्क व्यवस्थित गर्न बर्षेनी लाखौ खर्च, उपलब्धी बालुवामा पानी खनाए सरि



दिपक अनुरागी, कपिलवस्तु, १९ असोज ।
सदरमुकाममा अवस्थित तौलिहवा बसपार्कलाई व्यवस्थित पार्न हरेक नगर परिषदमा ५ लाख देखी १५ लाख सम्म छुटटाउन थालेका केहि वर्ष वितेका छन् । तर बसपार्क झनझन जीर्ण र अस्त ब्यस्त बन्दै गएको पाइएकोछ । बर्षेनी लाखौ रकम खर्च गर्ने गरे पनि उपलब्धी देखा नपरेको हो । सदरमुकाममा रहेको बसपार्क जिल्लाको एक मात्र बसपार्क हो ।
नगरपालिकाले बसपार्क व्यवस्थित पार्न बर्षेनी लाखौ रकम छुट्याउँछ ठेकेदारलाई ठेक्का पनि दिन्छ तर ठेकेदारले झाराटारेर रकम झ्वाम पार्ने र नगरका प्राविधिक कर्मचारीले कमिशनको मिलेमतोमा रिर्पोट मात्र तैयार पार्ने ब्यवहारमा केहि नहुने हुँदा यस्तो अवस्था आएको कवनपा वडा नम्बर ५ निवासी हकि खाँको आरोप छ । “बर्षेनी लाखौ रकम खर्च हुने गरेका धेरै बर्ष विते, तर बसपार्कको हविगत हेर्नुस यस्तो छ, खाँले कपिलवस्तु दर्पण संग आक्रोसित मुद्रामा भन्नुभयो ।”
९० लाख लागतमा करिव १ दशक अघि बर्सपार्क व्यवस्थित पार्ने काम गरिएको थियो । बसपार्कलाई अझै व्यवस्थित पार्न भन्दै कपिलवस्तु नगरपालिकाले प्रति सवारीसाधन वापत ३० रुपैया रोयल्टी उठाउने गरेको छ । तर बसपार्क व्यवस्थित गर्न नगरपालिकाले कडाईका साथ कदम चालेको देखिन्न । नाम बसपार्क भएपनि जीवजन्तु पार्क जस्तो बन्न पुगेको छ ।
बजारबासीले पशुचौपायलाई छाडा छाड्ने गर्दा यस्तो भएको हो । पशुचौपाय छाडा छोड्दा यात्रु बस्नका लागि बनाइएको प्रतिक्षालय बाख्राको खोर बन्न पुगेको छ । रुपन्देही घर भई बसको सहचालकको भुमिकामा रहेका कृष्ण बेदर्दी भन्नुहुन्छ, ‘यसलाई बसपार्क कस्ले भन्छ ? बाख्रा बस्ने खोर हो । ’ घरपालुवा जनावर घरबाट छोड्दा वित्तिकै बसपार्कमा आएर बस्ने गर्छन, ‘ जनावरको प्यारो वासस्थान बसपार्क हो उहाँ ब्यङ्ग्य गर्दै भन्नुहुन्छ, यो बसर्पाक कसरी भयो । ’
बर्खामा हिलाम्य र हिउँदमा धुलाम्मे हुनु बसपार्कको पहिचान जस्तै बनेको छ । यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने गरेको बसपार्कमा व्यवसाय गर्नेहरुको गुनासो छ । साथै बसपार्क यति सम्म अस्तव्यस्त छ कि एउटा शौचालय सम्म पनि प्रयोग हुने अवस्थामा छैन । बर्षौ पहिला निर्माण गरिएको शौचालय जीर्ण बनेको छ । पानीको असुविधाको कारण शौचालय जीर्ण बनेको हो । शौचालय नहुँदा बसबाट उत्रने यात्रुहरुले खुला रुपमा शौच गर्ने गरेका छन । यसले गर्दा बसपार्क दुगन्र्धित भएको छ । यस बिषयमा सरोकारवाला निकाय जिम्मेवार नबनेको सर्वसाधारणको आरोप छ ।
बुद्धभुमि कपिलवस्तुमा पर्यटकको आवगमन बर्षेनी बढी रहेको तथ्याङ छ । बुद्धले २९ बर्ष विताएको तिलौराकोट र विश्व सिमसार क्षेत्रमा सुचिकृत भएको जगदिशपुर ताल अवलोकनका लागि बर्षेनी हजारौँ पर्यटक भित्रने गरेका छन् । तर पर्यटक उत्रने बसपार्ककै यस्तो व्यथितीले गर्दा पर्यटकमा नकरात्मक सोचाई पैदा हुने गरेको गुनासो यहाँका स्थानीयको बुझाईछ ।
बसपार्कको अस्तव्यस्तता भएको कपिलवस्तु नगरपालिका पदाधिकारी स्वीकार्छन । ठेकेदारले गरेको काम गुणस्तरको नहुने र नगरपालिकाले प्रयाप्त बजेट खर्च गर्न नसक्दा यस्तो भएको वताउछन् । तराईका जिल्ला सदरमुकाममा सघन शहरी विकास कार्यक्रम अन्तर्गत आएको बजेटलाई यस बर्ष तौलिहवा बसपार्कमा खर्च गर्ने तयारीमा कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ता.बताउँनुहुन्छ । उहाले यो वजेट खर्च हुदा अब छ्टिटै नमुना बसर्पाक हुनेमा कुनै शंका नगर्न उहाँको आग्रह छ ।
बसपार्क व्यवस्थितको लागी साढे यसपाली साढे ८ करोडको बजेट पारि टेण्डर प्रक्रिया पनि पुरा भैसकेको नगरपालिकाले जनाएको छ । टेण्डर दिएर काम हुने बेला ठेकेदार विच आपसी विवाद हुदाँ असार मसान्त पहिले नै गर्नुपर्ने काम हाल रोकिएको छ । दशै तिहार पछि लगत्तै बसपार्क व्यवस्थितको काम अगाडी बढाउने नगर उपप्रमुख गुप्ताले बताउनुभयो ।
तौलिहवा बसपार्कबाट पश्चिम नेपाल बस यातायात व्यवसायी समिति, कपिलवस्तु बस व्यवसायी समिति र सिद्धार्थ बस व्यवसायि समितिका गाडी सञ्चालन हुदै आएका छन । यहाँबाट दैनिक काठमाण्डौ, पोखरा लगायतका जिल्लामा बस छुट्ने गर्छन तर बसपार्कको अस्त ब्यस्तताले सेवाग्राहीहरु वाटोवाटै गाडीमा चढेर गन्तब्यमा पुग्ने र वसपार्क अगावै उत्रने गर्दै आई रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  १ : ४१ बजे