१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सिद्धवावामा फेरि पहिरो खस्यो , सडक अवरुद्ध



लक्ष्मण पोखरेल बुटवल, १९ असोज ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक फेरि अवरुद्ध भएको छ । बुधबार दिउसो सडक बन्द गरेर पहिरो हटाइएपछि खुलेको सडक केही घण्टापछि नै फेरि अवरुद्ध भएको हो ।
गयराति नै पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले रातिको समयमा सडकमा यात्रा गर्दा जोखिम हुने भन्दै राति ८ बजेदेखि विहान ६ बजेसम्म यातायात आवागमन रोकेको थियो । बिहानैदेखि सडक अवरुद्ध भएपछि सयौ यातायातका साधनहरु रोएिका छन् ।
दुई सातादेखि निरन्तर पहिरो खसिरहेकाले यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् । निरन्तर ढुंगा बगिरहेकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सोही पहिरोमा हिजो सडक पार गर्नेक्रममा सडक माथीबाट खसेको ढुंगाले लाग्दा रुपन्देहीको सैनामैना नगरपालिका रामापुरका दिलीप कुमार न्यौपाने घाईते भएका थिए । न्यौपाने लु १७ प १८७३ नम्बरको मोटरसाईकलमा श्रीमती र डेढवर्षको छोरी सहित पाल्पाको पूर्वखोला जांदै गरेका थिए । पहिरोसंगै झरेको ढुंगाले लाग्दा न्यौपानेको खुट्टामा गहिरो चोट लागेको छ ।
दुई साताअघि मात्रै सोही स्थानमा कार र ट्रक च्यापिदा तीन जनाको ज्यान गएको थियो । गुल्मी, पाल्पा, अर्घाखाची, स्याङजा लगायतका जिल्लाबाट बुटवल आउने एक मात्रै नाका बन्द भएपछि दशैमा घर गएका यात्रुहरु मारमा परेका छन् ।
पहिरो हटाउन ढिलाई गरेको भन्दै यात्रुहरुले आक्रोस व्यक्त गरेका छन् । सिद्धवावा सडक खण्डको ५ किलोमिटर निकै जोखिमपूर्ण रहेको छ । यो सडकमा वर्षेनी गाडीहरु पुरिदै आएका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ४ : ०६ बजे