६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

प्रधानमन्त्री देउवाद्वारा कानुन व्यवसायीसँग छलफल



काठमाडौं, असोज १९ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानुन व्यवसायीसँग बुधबार परामर्श लिनुभएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिनुभयो ।
वरिष्ठ कानुन व्यवसायीले वर्तमान अवस्थामा चुनावसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानुनी व्यवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन र पार्टी एकताको पहल थालेपछि प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको हो ।
बैठकमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायतका कानुन व्यवसायी सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ४ : १० बजे