१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बारपाकमा भूकम्प स्मृति पार्क निर्माणको प्राविधिक काम सुरु



गोरखा, असोज १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको डेढ वर्षपछि गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माणको प्राविधिक काम सुरु भएको छ । राष्ट्रपतिले शिलान्यास गरेको झण्डै १० महिनापछि अर्थात गएको फागुनमा मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पार्क निर्माणको योजना स्वीकृत गरेको थियो । अहिले भने पार्कको डिजाइन तयार पार्ने लगायतका काम सकिएको हो ।
डिजाइन स्वीकृत भइ लागत अनुमान पनि तयार पारिसकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कर्याालयले जनाएको छ । पार्क निर्माणका लागि १६ करोड १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । पार्क निर्माणका लागि टेण्डर प्रक्रिया पनि सुरु भैसकेको डिभिजन कार्यालयका इन्जिनियर अजयकुमार श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा प्राविधिक प्रस्ताव माग गरिएको र स्वीकृतिका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पठाइएको उहाँले बताउनुभयो ।
प्राविधिक प्रस्ताव स्वीकृत भएर आएपछि ठेकेदार कम्पनीहरुसँग आर्थिक प्रस्ताव मागिने र त्यसैका आधारमा ठेक्का सम्झौताको कामअघि बढाइने श्रेष्ठले बताउनुभयो । सबै प्रक्रिया सरासर पूरा भए कात्तिक दोस्रो हप्तासम्ममा ठेक्का सम्झौताको काम सकिने डिभिजन कार्यालयको भनाई छ । पार्क भित्र बनाइने संरचनाको पनि डिजाइन तयार भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले बताउनुभयो ।
पार्कमा बगैँचा, भूकम्पले पुर्‍याएको क्षतिको विवरण झल्कने संरचनाहरु निर्माण गरिनेछ । पार्कको मूख्य आकर्षणका रुपमा भने भूकम्प स्मृति स्तम्भ रहने छ । २०७२ वैशाखको भूकम्पले बढी क्षति पुर्‍याएका १४ जिल्लाका मृतकहरुको सम्झनामा छुट्टाछुट्टै १४ वटा स्तम्भ निर्माण गरिने छ भने स्तम्भमा जिल्लाहरुको नाम पनि लेखिनेछ । हरेक स्तम्भमा ति जिल्लाहरुमा क्षति के के भयो भनेर जानकारी राख्ने योजना रहेको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै अर्को छुट्टै स्तम्भमा ग्लोव अर्थात पृथ्वीको आकृति बनाएर गत वर्ष भूकम्प गएको मिति र समय उल्लेख गर्ने गरी डिजाइन तयार पारिएको उहाँले बताउनुभयो । स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २ सय ३२ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ति जग्गामा स्मृति पार्क बनाइने छ । तर भूकम्पले क्षति पुर्‍याएको साबिकको बारपाक–५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिए पनि केही घरधुरीले स्थानान्तरणका लागि सहमति नजनाउँदा केही अन्यौल देखिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ५ : २९ बजे