८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी



काठमाडौं, असोज १९ ।
सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले एकाएक विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ ।

बुधबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका कांग्रेसका प्रभावशाली नेताहरुले माओवादीलाई सरकारबाट हटाउन सुझाव दिएका थिए ।

बुधबार कांग्रेस कार्य सम्पादन समितिको बैठकपछि नेता अर्जुननरसिंह केसीले माओवादी मन्त्रीलाई छाड्न सुझाव दिनुभएको थियो । केसीले पत्रकारहरुसँग भन्नुभएको थियो, ‘माओवादीका मन्त्रीहरु सरकारमा बसिरहनु नैतिक रुपमा उपयुक्त होइन ।
बुधबार बेलुका नै बसेको कांग्रेससहित ६ दलको प्रधानमन्त्रीमा देउवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएसँगै देउवाले माओवादीका मन्त्रीलाई सरकारबाट बिदाइ गर्ने तयारी गर्नुुभएको स्रोतको भनाइ छ । देउवा सरकारमा माओवादीबाट एक जना उपप्रधानमन्त्री, सात जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी छन् ।
कांग्रेस, राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाल फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेलसँगै सरकारलाई निरन्तार दिने प्रतिबद्धता जनाएका छन् । ६ दलको बैठकपछि कांग्रेस नेता निधिले भन्नुभयो, ‘तोकिएको मितिमा चुनाव यही सरकारले गराउँछ । अहिले पनि हामीसँग ३ सय २ बहुमत रहेकाले सरकार सुरक्षित छ ।’
संसदमा कांग्रेसका २०७, राजपाका २४, राप्रपा र राप्रपा प्रजातान्त्रिकका ३७, नेपाल फोरम लोकतान्त्रिकका १७, संघीय फोरमका १५ सहित तीन सय ३ जना सांसद छन् । सरकार कायम राख्न संसदमा हाल कायम रहेको पाँच सय ९२ को बहुमत दुई सय ९७ भए पुग्छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ७ : ४९ बजे