१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

निर्ममता पूर्वक कुटपिटबाट एक युवकको हत्या



मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज ।
कपिलवस्तुमा दुर्गा पूजा विसर्जनको बेला दुई गाउँका यूवाविच आपसी विवाद सिर्जना हँुदा एक युवकको ज्यान गएको छ । दुर्गा पूजा विर्सजनको बेला वानपा ६ अमौली गाउँका यूवाको कुटपिटबाट कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हरनामपुरका २४ बर्षिय राम बहादुर थारुको मुत्यु भएको हो ।
जिल्लाको वाणगंगा नदी लक्ष्मणघाटमा दुर्गा पूजा विर्सजनको क्रममा अमौलीका युवाको कुटपिटबाट हरनामपुरका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । युवकलाई कुटपिट पछि हत्या गरेको अभियोगमा अमौली गाउँका रत्न बहादुर थारु र नेत्रलाल थारुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।
दशैको अर्को दिन एकादशी तिथिमा उक्त घटना घटेपनि प्रहरीले घटनालाई गुपचुप राखेको स्थानीयले आरोप लगाएका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक थारुलाई निर्ममता पूर्वक कुटपिट पछि हत्या गरिएको दाबी छ । दुर्गा पूजा विसर्जनको बेला नाचगान गर्ने क्रममा अमौली र हरनामपुरका यूवाहरु विच सामान्य भनाभन पश्चात विवाद उत्पन्न भएको थियो । युवाहरु विच झडप सिर्जना भएपछि दुर्गा पूजाको विसर्जनका लागि आएका हजारौ दशनार्थी भागाभाग गरेका थिए ।
एक दर्जन युवाले मृतक थारुलाई कुटपिट गरिरहदा छुट्टाउने कोहि नभएको स्थानीय बताउँछन् । झडपमा परि मृतक थारु पक्षका दुई जना यूवा पनि सामान्य घाइते भएका छन् । यता इलाका प्रहरी कार्यालय पिपराले युवकको मृत्युबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १ : ३८ बजे