६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

रुपन्देहीमा फलफुलको व्यापारमा १५ प्रतिशतले बृद्धि



रुपन्देही, २० असोज ।
रुपन्देहीमा बिगतको वर्षभन्दा यसवर्ष दशैंको समयमा फलफुलको व्यापार १५ प्रतिशतले बढेको छ । दशै बाहेकको समयभन्दा भने यो अवधिमा १ सय ३० प्रशितले विक्री बढेको हो । अन्य उपभोग्य बस्तु तथा माछा मासुको कारोवार विगतका वर्षहरुको तुलनामा कमी भएपनि फलफुलको व्यापार भने राम्रो भएको व्यवसायीहरु बताउंछन् ।
दशैंमा माछा मासु, रोटी, मिठाई संगै फलफुलको प्रयोग समेत बढ्न थालेपछि व्यापार राम्रै भएको हो । पछिल्लो ६ दिनको अवधीमा मात्र स्याउ, केरा, अनार, अम्बा लगायतका गरी ६ सय टनभन्दा धेरै फलफुलको कारोबार भएको बुटवल स्थित कृषि उपज थोक बजार केन्द्र संचालक समितीका अध्यक्ष कलाधर पन्थीले जानकारी दिनुभयो ।
थोब बजार केन्द्रबाट २४ करोडको फलफुलको कारोबार भएको पन्थीले बताउनुभयो । केन्द्रबाट सबैभन्दा धेरै केरा र स्याउको विक्री भएको छ । मूल्यको हिसाबले स्याउ र परिमाणको हिसाबले केराको विक्री धेरै भएको हो । दशैको ६ दिनको अवधीमा ३ सय टन केरा र २ सय टन स्याउ विक्री भएको छ । कारोबार बढेसंगै यसवर्ष केराको ८० प्रतिशत माग नेपालकै उत्पादनले पुरा गरेको छ । गएको वर्ष ९० प्रतिशत केरा भारतबाट आयात गरिएकोमा यसवर्ष २० प्रतिशतमात्र भारतबाट आयात गरिएको पन्थीले बताउनुभयो ।
तर भारतिय स्याउ उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । पन्थीका अनुसार यसवर्ष दशैं केहि चाडो परेको र चाईनिज स्याउ खानको लागि तयार भईनसकेकाले उपभोक्ताको रोजाईमा खासै परेन । स्याउको कुल बजारको ६० प्रतिशत माग भारतिय स्याउले पुरा गरेको पन्थीले बताउनुभयो । कृषि उपज थोक बजार केन्द्रबाट लुम्बिनी अञ्चलका विभिन्न जिल्लाहरु संगै, चितवन, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रहरुमा फलफुल जाने गर्दछ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १ : ४९ बजे