१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा राष्ट्रिय कवि गोष्ठि, बाह्य हस्तक्षेपलाई जोगाउन कविताबाट खबरदारी !



मायादेवी अनलाइन, कपिलवस्तु, २१ असोज ।
कपिलवस्तुमा भेला भएका कबिहरुले बाह्य हस्तक्षेपबाट मुलुकलाई जोगाउन आफ्नो कविता र रचना मार्फत राजनीतिक दललाई खवरदारी गरेका छन् । दधि स्मृति साहित्य समाज कपिलवस्तुले शनिबार वाणगंगा नगरपालिकाको चारनम्बरमा आयोजना गरेको राष्ट्रिय कबि गोष्ठी, स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा सहभागी कबिहरुले आ आफ्नो रचना सुनाउदै छिमेकी देश संगको सम्बन्ध समान रुपले अगाडि बढाउनुपर्ने सन्देश छरेका छन् ।
नेपालका प्रख्यात कविहरुको उपस्थिती रहेको उक्त कवि गोष्ठिमा सुदुर पश्चिमीको कन्चनपुर, दाङ, रुपन्देही, नवलपरासी, चितवन र राजधानी काठमाण्डौ सम्मका कवि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
कवि गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै कबि डा. नवराज लम्सालले भाषा संस्कृतिको लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गर्नुभयो । नेपालको पहिचान भाषा र संस्कृतिले दिएको भन्दै नेपाली भाषा र संस्कृतिको जगेर्नामा राज्य गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । देशमा बाह्य हस्तक्षेप रोक्नका लागि पनि कविहरु एक भएर लाग्नुपर्नेमा डा. लम्सालको जोड थियो ।
कार्यक्रममा छन्द अभियन्ता तथा वरिष्ठ कबि डा. देवि नेपालले नेपाल रहुन्जेल भाषा, साहित्य जिवित रहने बताउनुभयो । नेपाली भाषाविद् समेत रहनुभएका नेपालले पछिल्लो समय भाषा, साहित्यमा बाह्य देशको भाषाको प्रयोग बढी बढेको प्रति चिन्ता व्यक्त गर्दै राज्य यस बिषयमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा चितवनका कबि गोर्खे साहिलो, गजलकार धनराज गिरी, कञ्चनपुरका कबि कबिराज भट्ट विलौना, कबि ऋषिकेशव भारध्वाज, बाल कवियत्रि अनुपा नेपाल, गजलकार समिर सायर लगाएत दर्जन बढि श्रष्टाहरुले कविता बाचन गर्नुभएको थियो ।
कवितामा राष्ट्रियता झल्कने, राजनीतिक अस्थिरताको अन्त्य गर्दै देशलाई आर्थिक सम्बृद्धि तर्फ लैजानुपर्नेमा जोड दिइएको थियो । कवितामा कविहरुले नेपाली भाषा, संस्कृति लोप हुदै गइरहेको चिन्ता व्यक्त गर्दै राज्यले भाषा संस्कृतिको संरक्षणमा पनि जोड दिनुपर्ने बताएका थिए ।
उक्त अवसरमा नेपाली भाषा संस्कृतिमा योगदान गरेको भन्दै कपिलवस्तुका वरिष्ठ कवि ऋषिकेशव भारद्धाजलाई दधि स्मृति छन्द श्रीबृद्धि साहित्य पुरस्कार स्वरुप नगद ५ हजार ५ सय ५५ सहित ताम्रपत्रले सम्मान गरिएको छ ।
यस्तै चितवनका कवि गोेर्खे साइलोलाई दधिस्मृति काव्य साधन साहित्य सम्मान, गजलकार धनराज गिरीलाई दधि स्मृति साहित्य सम्मान, कवि कविराज भट्टलाई दधि स्मृति छन्द प्रतिभा साहित्य सम्मान, अनुज्ञा नेपाललाई दधि स्मृति प्राचि बाल साहित्य पुरस्कार सहित २ हजार ५ सयले सम्मान गरिएको आयोजकले जनाएको छ ।
दधि स्मृति साहित्य समाजका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, सचिव समिर सायरको सञ्चालन, साहित्यकार सूर्य प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : ५५ बजे