१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा



रामपुर, पाल्पा, २७ असोज (रासस) ।
रिब्दिकोट गाउँपालिका–६ ठिमुरे इजरडाँडाका बासिन्दा मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा लागेका छन् ।

स्थानीयवासीले वर्षौंदेखि दैनिक ठूलो परिमाणमा मदिरा उत्पादन गरी साँझ–बिहानको हातमुख जोर्ने गर्थे । मदिराजन्य पदार्थको उत्पादन गरी बिक्री–वितरण गर्दा समाजमा नराम्रो छाप परेपछि उनीहरूले व्यवसाय नै परिवर्तन गरी गाई पाल्न शुरु गरेका हुन् ।

गत वर्षबाट गाउँका १८ घरपरिवारले मदिरा उत्पादन छाडेर उन्नत जातका दुई÷दुईवटा गाई पाल्न शुरु गरेका छन् । व्यवसायका लागि फूलबारी बचत तथा ऋण सहकारी संस्थाले बिना धितो ऋण लगानी गरिदिएपछि सजिलो भएको उनीहरू बताउँछन । एउटा कृषकले दैनिक १५ देखि १८ लिटरसम्म दूध बिक्री गर्दै आइरहेका छन् ।

दाना र घाँसपानीको उपयुक्त तालमेल गराउन सके एउटा गाईबाट पनि मनग्य आम्दानी लिन सकिने कृषक ढालबहादुर उचै बताउनुहुन्छ । लामो समयसम्म आर्थिक उपार्जनका लागि उहाँले मदिराजन्य पदार्थ उत्पादन गरी बजारमा बिक्री गरेर जीविका चलाउँदै आउनुभएको थियो ।
यस्तै, विष्णु पाडेँ मगरले घरखर्च र छोराछोरीको पढाइ खर्चका लागि रातभरि मदिरा उत्पादन गर्ने र उज्यालो भएपछि बजारका विभिन्न पसलमा बिक्री गरेर लामो समयसम्म जीविका चलाउनुभयो ।

मदिराजन्य पदार्थ उत्पादनभन्दा गाईपालन व्यवसाय गर्न सजिलो मात्र नभई अहिले सबैले व्यवसायको प्रशंसा गर्न थालेको माया गाहा बताउनुहुन्छ ।

इजारडाँडा गाउँमा एक महिनामा दूध बिक्रीबाट झण्डै रु दुई लाख ४० हजारभन्दा बढी रकम भित्रने गर्छ । त्यहाँ उत्पादित दूध डुम्रे दुग्ध उत्पादक सहकारीले व्यवस्थापन गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसी बताउनुहुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५३ बजे