१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अभिभावकको भरमा शिक्षकको तलब



पाल्पा, २७ असोज (रासस) ।
पाल्पाको तानसेन नगरपालिका–७ मदनपोखरास्थित तिन्टीआप आधारभूत विद्यालय सञ्चालनका लागि शिक्षकको तलबका लागि पैसा बुझाउन अभिभावक बाध्य छन् ।

कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा ८४ जना बालबालिकाले पढ्छन् । नर्सरीदेखि कक्षा ५ सम्म अंगे्रजीमाध्यममा पठनपाठन हुँदै आएपनि तीनजनाको दरबन्दी, दुईजना नीजि स्रोत, एकजना बालकक्षा सहयोगी र एकजना विद्यालय सहयोगी रहेको विद्यालयका प्रअ फणिन्द्र ढुंगानाले बताउनुभयो ।

शिक्षकको दरबन्दी काटेपछि निजी शिक्षक राख्नुपर्ने बाध्यताले तलब खुवाउन समस्या बढेपछि विद्यालयको कोष र अभिभावकको सहयोगले विद्यालय अघि बढेको प्रअ ढुंगानाले बताउनुभयो ।

निजी स्रोतबाट पारिश्रमिक लिने जुनु तिवारी र सुनिता पाण्डेयले अरु शिक्षक शिक्षिकासरह नै विद्यालयमा पढाउनुपर्छ, तर उनीहरूको तलब विद्यालयले निर्धारण गरेको रु चारहजार ५०० रहेको छ ।

विद्यालयले कक्षा १ मा पढाउने अभिभावकले ८००, कक्षा २ का अभिभावकले रु ९००, कक्षा ३ का अभिभावकले रु एकहजार, कक्षा ४ काले रु एक हजार १०० र पाँचकाले रु एक हजार २०० वार्षिक शिक्षकको तलबका लागि भनेर विद्यालयलाई बुझाउँछन् ।

कक्षा धेरै, शिक्षक कम भएपछि निजी स्रोतबाट शिक्षक राख्ने चलन सामुदायिक विद्यालयमा अलि बढी भएपनि आम्दानीका स्रोत भने निकै कमजोर रहेकाले शिक्षक उधारोमा पढाउन बाध्य छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५७ बजे