१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022

पिपरामा नौ गाई मृत अवस्थामा फेला, घटना रहस्यमय !



मायादेवी अनलाइन, कपिलवस्तु, ४ कार्तिक ।
कपिलवस्तुमा विहिबार राती नौ वटा गाई मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा नौ ओटा गाई रहस्यमय तरिकाबाट मृत अवस्थामा फेला परेका हुन ।
पूर्व पश्चिम राजमार्गमै गाई मृत अवस्थामा भेटिए पछि स्थानीयबासी आचश्र्य चकित बनेका छन् । यति धेरैको संख्यामा गाई के कारणले मृत अवस्थामा भेटिए घटना रहस्यमय बनेको छ ।
गाईलाई सवारीसाधनले हानेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुमान छ । मृत मध्ये तीन वटा गाईलाई मात्र चोट लागेको र अन्य गाईमा चोट नदेखिएको कारण यसै भन्न नसकिने प्रहरीले बताएको छ ।
घटनाको निकै गम्भिरता पूर्वक अनुसन्धान भैरहेको कपिलवस्तुका प्रहरी नायव निरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । कुनै सवारी साधनले गाईलाई हानेको हो या कसैले हत्या गरेको हो यसको सुक्ष्म अध्ययन भैरहेको अधिकारीले बताउनुभयो ।
यता मृत अवस्थामा भेटिएका गाई भन्दा सशस्त्र प्रहरी वेश क्याम्प पिपरा ५० मिटर नजिकै रहेको छ । त्यहाँ रातभर सशस्त्र प्रहरी डियुटीमा खटिने गरेका छन् । तर सशस्त्र प्रहरीले पनि गाई कसरी मृत अवस्था फेला परे अनविज्ञता प्रकट गरेको छ । यस्तै वडा प्रहरी कार्यालय पिपराको कार्यालय पनि मृत अवस्थामा भेटिएका गाई भएको स्थान देखि करिब ४ सय मिटर अगाडी मात्र छ ।
मृत अवस्थामा भेटिएका गाईलाई शुक्रबार विहान स्काभेटरको प्रयोग गरि सोहि स्थानमै पुरिएको छ । पिपरा स्थित सरोकारवाला पक्षको सहभागीतामा मृत गाईलाई पुरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७४ शनिबार ००:००  १२ : ५५ बजे