६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

प्रचारका लागि चुनाव चिन्ह अंकित टोपी, स्टिकर, झोला, टि–शर्टसहितका सामग्री प्रयोग नर्गन आयोगको आग्रह



काठमाडौं, कातिक ५ । आउँदो मङ्सिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनाव प्रचार प्रसारमा प्रयोग गर्ने गरी चुनाव चिन्ह अंकित पहिरन जस्तै टोपी, स्टिकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरूको उत्पादन, वितरण र प्रयोग नर्गन आग्रह गरेको छ ।
देशभरका ७५ जिल्लाका मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रीयरजिल्ला निर्वाचन अधिकारीलाई आयोगले आइतबार एक पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारमा प्रयोग गर्ने गरी चुनाव चिन्ह अंकित सामग्रीहरु उत्पादन, बिक्री वितरण वा प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता विपरित हुने हुँदा त्यस्ता सामग्री उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रण गर्न निर्देशन दिएको हो ।
राजनीतिक दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा यस्ता सामग्री उत्पादन तथा वितरण गर्न लागेको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा आयोगले त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएको आयोजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगको आदेश विपरित चुनाव प्रचारप्रसारमा यस्ता सामग्री प्रयोग गरेको पाइएमा त्यस्ता अबैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारवाही गर्न समेत आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७४ आइतबार ००:००  १ : ४० बजे