१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सामाजिक सद्भाव र एकतामा एमालेको चियापान नमुना



दिपक अनुरागी, कपिलवस्तु, ८ कार्तीक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले नेपालीका महान चाडपर्वलाई मध्यनजर गरी राख्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस बर्ष पनि राखेको छ । मदन आश्रित स्मृती भवन तौलिहवामा बुधबार राखिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका प्रमुख राजतीनि दलका नेता, सरकारी कार्यालयका प्रमुख, पार्टी कार्यकर्ता, शुभेच्छुक, तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले अबको राजनीति देशलाई समृद्धि पार्नका निम्ति हुनुपर्ने बताउनुभयो । पटक पटक राजनीतिक आन्दोलन भएको स्मरण गर्दै नेता भट्टराईले अब सबै दल मिलेर देशलाई समृद्धिको दिशा तर्फ लैजानुपर्ने बताउनुभयो । त्यसको लागि सबै दल विच भावनात्मक एकता, विचारात्मक गन्थन मन्थन र संस्कार युक्त राजनीतिको आवश्यक्ता रहेको उहाँले बताउनुयो । शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक दल विचको मनमुटाव हटाउने काम गर्छ, ‘उहाँले भन्नुभयो त्यसको लागि एमालेले हरेक बर्ष कार्यक्रम गर्दै आएको छ ।’
नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सचिवालय सदस्य गिरीधारीलाल न्यौपानेले एमालेले राख्दै आएको शुभकामना कार्यक्रमलाई अरु दलले पनि सिको गनुपर्ने बताउनुभयो । देश चुनावी माहोलमा गएको बताउँदै उहाँले भन्नुभयो, ‘देशलाई आर्थिक समृद्धिको दिशामा लैजान बाम तालमेल गरेका छौ ।’ महान चाडपर्व सकिए संगै अबको एक दुई महिना भित्रै देशले स्थीर सरकार पाउँने गरि सरकार बन्ने उद््घोष गर्नुभयो । उहाँले भन्नुभयो, “अब देशमा राजनीतिक संक्रमण अन्त्य हुदैछ ।”
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेयले कपिलवस्तुको विकासमा सबै दल एकमत हुनुपर्ने बताउनुभयो । एमालेको शुभकामना आदानप्रदान कार्यक्रमले आपसी भाइचारामा सहयोग पुगेको बताउनुभयो । देश निर्माणमा सबै दलको आवश्यक्ता हुन्छ, उहाँले भन्नुभयो, ‘जातीय र धार्मिक सद्भावका लागि कार्यक्रम महत्वपूर्ण छ ।’
नेकपा –एमाले) का जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुको विकासमा सबै दल एक भएर अगाडी बढ्दै आएको स्मरण गर्नुभयो । कपिलवस्तुमा हरेक क्षेत्रका नागरिकको बसोबास रहेको भन्दै अध्यक्ष पोख्रेलले भन्नुभयो, जातीय, धार्मिक सद्भावमा कपिलवस्तु नमुना जिल्ला छ । मधेस आन्दोलनको बेला देखि शुरु गर्न थालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी हुदै आएकोमा आफुहरु खुसी हुने गरेको बताउनुभयो ।
एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालको सञ्चालनमा भएको कार्यक्रममा पूर्वमन्त्री वृजेश कुमार गुप्ता, पूर्व राज्यमन्त्री इश्वरदयाल मिश्र, माओबादी केन्द्रका नेता भानुप्रकाश श्रेष्ठ लगायत सयौँ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  ११ : ४२ बजे