१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बरामद गरिएको नक्कली मह नष्ट



सीताराम चौधरीचन्द्रौटा ९ कार्तिक ।
चन्द्रौटा आसपासको क्षेत्रबाट बरामद गरिएको चिनीबाट निर्मित नक्कली मह प्रहरीले बुधबार नष्ट गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले पत्रकार सम्मेलन गरी प्रहरी परिसरमा खाल्डो खनी नक्कली मह नष्ट गरेको हो । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, संचारकर्मी लगायतको उपस्थितिमा मह नष्ट गरिएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउने अभियानसँगै त्यस बस्तीमा पुगेको अभियान टोलीले मंगलबार विहान १५सय लिटर मह बरामद गरेको थियो । चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको महले मानव स्वास्थ्यमा ठूलो असर गर्ने बताइन्छ । झण्डै २५ वर्षदेखि त्यस क्षेत्रमा भारतीय नागरिकहरु पालमुनि बस्दै आएका छन् । उनीहरुको पेशा नै नक्कली मह बनाउने र विशेष गरी पहाडी क्षेत्रमा गई मौरीको मह भन्दै बेच्ने गरेको पाइएको छ ।
नक्कली महलाई उनीहरुले २सय रुपैयाँदेखि ५सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको प्रहरी निरीक्षक भट्टराईले बताए । यसअघि पनि प्रहरीले पटक पटक मह बरामद गरेपनि नक्कली महको कारोबार रोकिएको छैन । गैर नेपाली नागरिकहरु लामो समयदेखि त्यहाँ बसेर नक्कली महको कारोबारबाट मोटो रकम कुम्ल्याउँदै आएका छन् । सस्तो रकममा पाएपछि नेपालीहरु पनि बर्षौंदेखि नक्कली महको प्रयोग गर्दै आएका छन् ।
नक्कली महको कारोबार गर्ने ती गैर नेपाली नागरिकहरुलाई कारबाही नगरेसम्म नक्कली महको कारोबार नरोकिने मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडाको आरोप छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : १३ बजे