४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कारागारमा तीन कैदी–बन्दीको मृत्यु



विराटनगर, कात्तिक ९ । कात्तिकको पछिल्लो एक सातामा तीन जना कैदी बन्दीको ज्यान गएको छ । एकसाताको अवधिमा जिल्ला कारागार मोरङमा दुई र क्षेत्रीय कारागार झुम्कामा एक जनाको ज्यान गएको हो ।
सातसय ५४ जना कैदी बन्दी रहेको जिल्ला कारागार विराटनगरमा १२ जना बिरामी देखिएका छन् । एक्कासी बिरामीको संख्या बढेपछि गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि काठमाडांै पठाउने तयारी गरिएको जिल्ला कारागार मोरङका प्रमुख जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार, बुधवार पनि बिरामीहरु भेटिएपछि उपचारका लागि अस्पतालमा पु¥याइएको छ । ५ जना बिरामीहरुको कोशी अञ्चल अस्पताल विराटनगर र नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।
बिरामी कैदी बन्दीमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर जेलर सापकोटाले हातखुट्टा दुख्ने, ज्वरो आउने झाडापखलालगायत समस्याका कारण कमजोर अनुभूति हुँदा श्वासप्रश्वासको समस्या पनि देखिएको बताउनुभयो । लागु औषधका बिरामीमा यो समस्या बढी देखिएको उहाँको भनाई छ ।
जिल्ला कारागार मोरङका प्रमुख सापकोटाले दिएको जानकारी अनुसार कैद सजाय भुक्तान गरिरहेका दुई जनाको ज्यान भएको हो । ज्यान जानेहरुमा प्रकाश कटवाल र महादेव साह रहेका छन् । मानव बेचबिखन मुद्धामा कैद भुक्तान गरिरहेका भारत जलपाइगुडीका प्रकाश कटवालको मंगलवार ज्यान गएको हो । उनी १६ महिना पछि छुट्दै थिए ।
त्यस्तै लागु औषध मुद्धामा सजाय भुक्तान गरिरहेका विराटनगरका महादेव धरौटी बुझाउन सकेको भए एक वर्ष अघि नै छुट्ने थिए । साहको उपचारका क्रममा कोशी अञ्चल अस्पताल र कटवालको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला कारागार प्रमुख सापकोटाका अनुसार बिरामीहरु बढी भएपछि उपचारका लागि काठमाण्डौ पठाउने तयारी गरिएको छ । ‘१२ जनालाई काठमाडौं पठाउन अनुमति मागेको छु ।’ उहाँले भन्नुभयो, ‘तर स्वीकृति आएको छैन् ।’
जिल्ला कारागार विराटनगरमा मात्र होइन क्षेत्रिय कारागार झुम्कामा पनि बिरामी देखिएका छन् । झुम्का कारागारमा एक जनाको मृत्यु भएको छ । जेलर गणेश अधिकारीका अनुसार कात्तिक २ गते सर्लाहीका बम्हदेव मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
एक हजार ३ सय ९० कैदी बन्दी रहेको झुम्का कारागारमा झण्डै चार सयमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको जेलर अधिकारीको भनाई छ । उहाँका अनुसार अस्पताल पुर्‍याउन र जेल ल्याउन समस्या भएका कारण बिरामीमध्ये जटिल प्रकृतिमा १० जनाको उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३९ बजे