१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो –नगरप्रमुख अधिकारी



सीताराम चौधरी चन्द्रौटा ९ कार्तिक ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अबको शिक्षा उत्पादनमूलक हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला शिक्षा कार्यालयद्वारा चन्द्रौटा स्रोतकेन्द्रमा आयोजित आर्थिक वर्ष २०७४।७५ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले आर्थिक समृद्धिका लागि उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो रहेको औल्याउनुभएको हो । उहाँले भन्नुभयो – “शिक्षा नै समृद्धिको मेरुदण्ड हो । शैक्षिक विकास नभई मुलुकको विकास असम्भव छ । अहिलेका बालबालिका नै देश विकासका सम्बाहक हुन् । बालबालिकाको भविष्य कोर्ने जिम्मा एउटा शिक्षकलाई मात्र छ । त्यसैले शिक्षक नै यसप्रति सबैभन्दा बढी सम्बेदनशील हुन आवश्यक छ ।”
फेरि उहाँले थप्नुभयो –“एउटा बसको ड्राइभरले लापरबाही गरे एक बसका प्यासेन्जरको ज्यान जोखिममा पर्छ, एउटा डाक्टरको लापरबाहीले एकजना विरामीको ज्यान जान सक्छ तर एउटा शिक्षकले लापरबाही गरे मुलुकै अन्धकारतर्फ धकेलिन्छ ।” यस युक्तिलाई मनन् गर्दै शिक्षकहरु आफ्नो पेशाप्रति सधैं उत्तरदायी बन्नुपर्ने नगरप्रमुख अधिकारीले सुझाव दिनुभयो । शैक्षिक, आर्थिक एवं समग्र नगरको विकासको लागि आफू सबैको सारथी बनेर अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले शैक्षिक विकासका लागि आफू सधैं सकारात्मक रहेको औंल्याउँदै नियमले भ्याएसम्म नगरपालिकाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिका शिक्षा फाँटका शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले सिकाइ उपलब्धी अभिवृद्धिका लागि शिक्षकहरु नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको तथ्यांकलाई मध्यावधिक गर्दै गुणस्तरीय शिक्षामा बढी जोड दिनुपर्ने तर्क राख्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जिशिअ बाबुराम भट्टराईले सहजीकरण गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र उपयुक्त व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यालय र नगरपालिकाबाट के कस्ता सेवा सुविधा पाउन सकिनेबारे सहायक जिशिअ भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै विस्तृत जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षकद्वय अर्जुन कुँवर र खिमबहादुर जिसी, स्रोतव्यक्ति देवेश प्रताप सिंह, राष्ट्रिय माविका प्रधानाध्यापक टीकाराम पाण्डेय, समयथान माविका प्रधानाध्यापक गिरीप्रसाद गैरे लगायतले कार्यक्रमका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेल तथा नगरपालिका अन्तर्गत पर्ने ५८ विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ४५ बजे