१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तिहारमा माइत गएकी युवती बेपत्ताभए पछि



सीताराम चौधरी कपिलवस्तु, १० कार्तिक ।
तिहार मान्न माइत गएकी एक युवती भाइटीकाको अर्को दिन घर फर्कने भनी बसमा चढेपनि हालसम्म घर आइपुगेकी छैनन् ।
शिवराज नगरपालिका वडा नं. ५, बालापुरका विष्णु सापकोटाका श्रीमती २२ वर्षीय गीता सापकोटा गत कार्तिक ५ गते आइतबारदेखि बेपत्ता भएकी हुन् । कपिलवस्तु नगरपालिका वडा नं.–१०, छेतराज माइत भएकी गीता भाइटीकाको अर्को दिन घर फर्किने भनी माइतबाट हिँडेकी बताइएको छ । गीताकी आमा आफैं वाणगंगाको बुङ्चीसम्म आई बसमा चढाएको पारिवारिक स्रोतले बताएको छ । तर गीता कता गइन्, एक घण्टाको बाटोमा पनि घर नपुग्दा परिवार निकै चिन्तित बनेका छन् । गीताले आफ्नो ४ वर्षे छोरा सुभम सापकोटालाई जेठानी दिदीको माइत इमिलियामा झारेर आफू माइततर्फ गएको जेठानी बिमला खनाल सापकोटाले बताएकी छन् । अहिले छोरा जेठानीका छोरीहरुसँगै घरमा आमाको बाटो कुर्दै बसेका छन् । तर पाँच दिनदेखि आमा घर नफर्किंदा छोरा सुभम विचल्लीमा परेका छन् ।
“गीता घरमा नआएपछि चारैतर्फ फोन सम्पर्क गरी बुझ्यौं, खोज्यौं तर कतै पत्तो लागेन,” ससुरा भोजराज सापकोटाले भने – “माइतीपक्षले बसमै चढाएर फर्केको भन्छन् । एक घण्टा बसको बाटो तर गीता कता हराइन् अहिलेसम्म कुनै सुराक फेला परेको छैन । बुहारीको कहीं कतै पत्ता लागेमा मोबाइल नम्बर ९८४७२९५७५५, ९८४७३२५६५७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला” ससुरा भोजराजले सबैमा अनुरोध गरेका छन् । गीताकी श्रीमान् विष्णु सापकोटा भने रोजगारीको सिलसिलामा अहिले विदेशमा छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  ५ : ५९ बजे